नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सहमति भएको छ।
सहमतिअनुसार भारतले नेपाललाई भैरहवा हवाई रुट उपलब्ध गराउने भएको छ। दुई देशबीच जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यससम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी मागलाई सम्बोधन गर्ने सहमति जुटेको हो। संयुक्त पत्रकार सम्मेलनमा यस विषयले औपचारिक स्थान नपाए पनि त्यसपछि सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा भने सहमति समेटिएको छ।
नेपाललाई भैरहवा हवाई रुट उपलब्ध गराउने विषयमा भारतले पनि नेपालसँग बागडोग्रा विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउन प्रस्ताव गरेको थियो। यस विषयमा दुवै देशबीच थप प्राविधिक छलफल हुने जनाइएको छ।
यो सहमतिसँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रमा लामो समयदेखि रहेको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप हवाई रुट आवश्यक रहेको नेपालको जोड रहँदै आएको थियो।
अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर हुनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन। नयाँ रुट उपलब्ध भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र हवाई क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास गरिएको छ।
यसअघि पनि विभिन्न नेपाली प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन। प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयलाई विशेष प्राथमिकतामा राखिएको थियो। भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफलसमेत भइरहेको थियो।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि पर्याप्त हवाई प्रवेशमार्गको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा पछिल्लो सहमतिले नेपालको नागरिक उड्डयन क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ। यसबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।





