प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध सकारात्मक लयमा फर्किएको परराष्ट्रमन्त्रीको भनाइ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक लयमा फर्काएको बताएका छन् ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वागतपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भ्रमणले दुई देशबीचको सम्बन्धलाई परिणाममुखी साझेदारीमा रूपान्तरण गर्ने आधार तयार गरेको बताए ।

उनका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक तथा विकास साझेदारी, ऊर्जा, व्यापार, भौतिक तथा डिजिटल कनेक्टिभिटी र जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको छ ।

भ्रमणका क्रममा दुवै देशले संयुक्त दूरदृष्टि दस्तावेज (जोइन्ट भिजन डकुमेन्ट) जारी गरेका छन् । उक्त दस्तावेजमार्फत जलवायु परिवर्तन, विपद् व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको मन्त्री खनालले जानकारी दिए ।

उनका अनुसार बदलिँदो समय र आवश्यकताअनुसार सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत पुराना सन्धि–सम्झौताको पुनरावलोकन तथा परिमार्जनका विषयमा छलफल अघि बढाउने बाटोसमेत खुलेको छ ।

व्यापार तथा पारवहन सहजीकरणतर्फ भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त गुजरातको काण्डलास्थित दीनदयाल बन्दरगाह र ओडिसाको पारादीप बन्दरगाह प्रयोग गर्न नेपाललाई पहुँच दिने सहमति भएको छ । मन्त्री खनालले यसलाई नेपालको लामो समयदेखिको माग सम्बोधन गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।

कनेक्टिभिटी विस्तारअन्तर्गत जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको संयुक्त उद्घाटन गरिएको छ । त्यस्तै, हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । भैरहवामाथिको हवाई पहुँच मार्ग दुवैतर्फबाट प्रयोग गर्न पाउने सहमति भएको पनि उनले स्पष्ट पारे ।

विकास सहायताअन्तर्गत भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यसमध्ये तीन हजार पाँच सय करोड भारतीय रुपैयाँ अनुदान र ११ हजार पाँच सय करोड भारतीय रुपैयाँ ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण सुविधा रहेको मन्त्री खनालले बताए ।

ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा इनरुवा–न्यू पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन निर्माण अघि बढाउने, तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन गर्ने सहमति भएको छ । झापा–सिलगुढी पेट्रोलियम पाइपलाइनको शिलान्यास र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई अन्तिम रूप दिने विषयमा पनि सहमति जुटेको छ ।

यसैगरी, दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन र वनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णयसमेत भ्रमणका क्रममा भएको छ ।

भ्रमणका क्रममा प्राकृतिक प्रकोप व्यवस्थापन, फरेन्सिक विज्ञान, शैक्षिक सहकार्य, डिजिटलाइजेसन, दिगो सहरी विकास, स्वास्थ्य, आयुर्वेद, पशुपालन, मत्स्यपालन र दक्षिण एसिया स्याटेलाइटको उपयोगलगायतका क्षेत्रमा सहकार्य गर्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्री खनालले जानकारी दिए ।

सीमा व्यवस्थापन तथा विवादका विषयमा पनि दुवै पक्षबीच छलफल भएको उनले बताए । संयुक्त स्थलगत निरीक्षण, सीमा स्तम्भको मर्मतसम्भार तथा प्राविधिक तहमा भइरहेका छलफललाई थप प्रभावकारी बनाउन परराष्ट्र सचिव र सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ ।

सीमा विवादका विषयमा उच्च तहमा समझदारी बनेको उल्लेख गर्दै मन्त्री खनालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) लगायतका विषयमा पनि दुवै पक्षको सहमतिअनुसार अघि बढ्ने बताए ।

उनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भएका भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।

मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास, समृद्धि र आपसी हितका क्षेत्रमा नयाँ सहकार्यको ढोका खोलेको बताए ।