जुवातास खेल्ने १६ जना पक्राउ

बनेपा (काभ्रे) – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आज बिहान शङ्खुपाटीस्थित एक खाली घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी निरीक्षक श्यामसुन्दर यादवको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट एक लाख ५१ हजार ५४५ रुपैयाँ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ का बलराम थापा, श्रीकृष्ण थापा, सुरजकुमार तामाङ, सुमन श्रेष्ठ, दीर्घबहादुर तामाङ, पूर्णबहादुर तामाङ, रामकृष्ण श्रेष्ठ, गणेश तामाङ, साजन श्रेष्ठ, भीम श्रेष्ठ, कुमार थापा र मिनबहादुर भुजेल रहेका छन् ।

त्यस्तै, बनेपा नगरपालिका–७ का कुमार तामाङ र राजेश लामा तथा नमोबुद्ध नगरपालिका–११ का धनबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । रासस