काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई पठाउने भएको छ। यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानमा सहभागी हुने तीन सदस्यीय चालक दलको नाम सार्वजनिक गरेको छ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अली चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रामा सहभागी हुनेछन्। उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन्।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको अन्तरिक्ष मिसनमा काम गर्नेछन्। उनले जैवप्रविधि र सामग्री विज्ञानसँग सम्बन्धित चारवटा वैज्ञानिक परियोजनामा अनुसन्धान गर्नेछन्।
चीन र पाकिस्तानबीचको सहकार्यमा सञ्चालन हुने वैज्ञानिक प्रयोगअन्तर्गत प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययनसमेत गरिनेछ। अली शेन्झाउ–२३ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्किने बताइएको छ।
यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीले संयुक्त रूपमा सहभागिता जनाउने पहिलो मिसन हुनेछ। सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार उक्त अभियान सञ्चालन हुन लागेको हो।
मिसनमा सहभागी चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन्। यसपटक उनी तेस्रोपटक चीनको तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्ने सीसीटीभीले जनाएको छ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलोपटक मानव अवतरण गराउने लक्ष्य राखेको छ। यसैगरी अमेरिकाले पनि सन् २०२८ मा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा उतार्ने योजना अघि बढाइरहेको छ।





