काठमाडौँ । अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ।
समितिको आज बसेको बैठकमा विधेयकमाथि दफावार छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको हो।
समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको जानकारी दिए।
उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण र गैरकर राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था समेटिएका छन्। साथै, आर्थिक गतिविधिमा सहजीकरण गर्ने र समयसापेक्ष नरहेका कानुनी प्रावधान खारेज गर्ने विषय पनि विधेयकमा समावेश गरिएको छ।
विधेयकले राजस्व प्रशासनलाई पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
समितिले आवश्यक संशोधनसहित विधेयक पारित गरेपछि त्यससम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतको सहभागिता रहेको थियो।





