काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा करार सेवामा काम गरेको आरोपमा एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगले प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।
मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सुरुमा रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करार सेवामा सव–इन्जिनियर पदमा काम गरेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको अनुसन्धानबाट खुलेको छ ।
मगरको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै सोही कानुनी व्यवस्थाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।





