अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको जानकारी

२४ जेठ (रासस – एएनआई) : फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अलकायदा उत्तरी अफ्रिकाका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएका छ्न् ।

रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको प्रमुख अब्देल्मलेक ड्रोउक्देलको ज्यान गएको शनिबार जानकारी दिएका हुन् । शुक्रबार आफ्नो ट्वीटर पेजमा उनले सो कुराको जानकारी दिएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ ।

मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उनले दिएको हो । मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ ।

त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो । उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ ।