कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान लागिएका १५ वटा राँगा–भैँसी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बुधबार ती पशु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नियन्त्रणमा लिइएका राँगा–भैँसीको मूल्य १ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएका पशु कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।






