‘नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छ’ : कार्यकारी निर्देशक कार्की

काठमाडौँ । नागरिक लगानी कोषले पुँजी बजारको विकासमा योगदान बढाउन लगानीका नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको सैद्धान्तिक छलफलका क्रममा यस्तो बताएका हुन्।

उनका अनुसार कोषको लगानीलाई परम्परागत क्षेत्रबाट विस्तार गरी पुँजी बजारमा उपलब्ध नयाँ वित्तीय उपकरणसम्म पुर्‍याउने उद्देश्यले ऐन संशोधन गर्न लागिएको हो। यसबाट पुँजी बजारको विकासमा योगदान पुग्नुका साथै उपलब्ध पुँजीलाई विभिन्न उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहज हुने उनको भनाइ छ।

कार्कीले कोषको लगानी क्षमता र कार्यक्षेत्र विस्तारसँगै सञ्चालनका क्रममा देखिएका व्यावहारिक तथा संस्थागत समस्याहरू समाधान गर्न पनि ऐन संशोधन आवश्यक रहेको बताए।

उनले कोषको दैनिक सञ्चालनमा देखिएका कमजोरी सुधार गर्ने, महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा औँल्याएका कैफियत सम्बोधन गर्ने तथा संस्थागत कामकारबाहीलाई व्यवस्थित बनाउने विषय संशोधन विधेयकमा समेटिएको जानकारी दिए।

त्यस्तै, हालको ऐनमा कार्यकारी निर्देशक र सञ्चालक समितिको काम, कर्तव्य तथा अधिकार स्पष्ट रूपमा व्याख्या नभएकाले त्यसलाई कानुनमै व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सञ्चालक समिति र कार्यकारी व्यवस्थापनबीचको जिम्मेवारी स्पष्ट पार्दै संस्थागत सुशासन, पारदर्शिता र व्यवस्थापकीय जवाफदेहिता बढाउने उद्देश्य पनि संशोधन विधेयकले राखेको कार्कीको भनाइ छ।

उनका अनुसार छरिएर रहेको बचत संकलन गरी राष्ट्र निर्माणमा पुँजी परिचालन गर्ने मूल उद्देश्यअनुसार बदलिँदो वित्तीय बजार र लगानीका अवसरलाई ध्यानमा राखेर कोषको लगानी क्षेत्र विस्तार गर्न लागिएको हो।

कार्कीले ऐन संशोधनको प्रक्रिया करिब दुई वर्षअघि नै सुरु गरिएको र संस्थागत आवश्यकता तथा सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरी अघि बढाइएको जानकारी दिए।