मङ्सिर १३ देखि २० गतेसम्म सुदूरपश्चिममा एनपीएल ट्रफी टुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को च्याम्पियन्स ट्रफीलाई सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा पुर्‍याइने भएको छ। प्रतियोगिताको प्रचारप्रसार तथा क्रिकेटप्रतिको आकर्षण बढाउने उद्देश्यले मङ्सिर १३ देखि २० गतेसम्म आठदिने ट्रफी टुर आयोजना गर्न लागिएको हो।

ट्रफी टुरका क्रममा सुदूरपश्चिमका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलमा ट्रफी प्रदर्शन गरिनेछ। साथै, विभिन्न बजारमा र्‍याली, मन्दिरमा पूजाआजा तथा विशेष कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार मङ्सिर १३ गते अछामको वैजनाथ मन्दिरबाट ट्रफी टुर सुरु हुनेछ। बिहान ८:३० बजे मन्दिरमा दर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म वैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्‍याली निकालिनेछ। सोही दिन अपराह्न ४ देखि ५:३० बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ।

मङ्सिर १४ गते डोटी र डडेलधुरामा कार्यक्रम सञ्चालन हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा पूजाआजा तथा दर्शनपछि १० देखि १२ बजेसम्म मन्दिरदेखि दिपायल बजारसम्म र्‍याली निकालिनेछ। त्यसपछि अपराह्न ४ देखि ६ बजेसम्म डडेलधुरा बजारमा र्‍याली गरिनेछ भने साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजाआजा हुनेछ।

त्यस्तै, मङ्सिर १५ गते बैतडी र १६ गते दार्चुलामा ट्रफी प्रदर्शन गरिनेछ। बैतडीमा बिहान ८:३० बजे निङ्लासैनी मन्दिरमा दर्शन तथा ९:३० देखि ११:३० बजेसम्म गोठालापानीमा र्‍याली निकालिने कार्यक्रम छ। दार्चुलाको मालिकार्जुन मन्दिरमा मङ्सिर १६ गते बिहान ८:३० बजे पूजाआजा गरी त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलङ्गा बजारमा र्‍याली आयोजना हुनेछ।

मङ्सिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म ट्रफी र्‍याली निकालिनेछ। त्यसैगरी, मङ्सिर १८ गते डडेलधुराको परशुराम धाममा मध्याह्न १२:३० बजे ट्रफी प्रदर्शन गरिनेछ।

मङ्सिर १९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा ट्रफी पुर्‍याइनेछ। बिहान ८:३० बजे टीकापुर पार्क, १० बजे चिसापानी, ११:३० बजे लम्की र मध्याह्न १२:३० बजे घोडाघोडी तालमा ट्रफी प्रदर्शन गरिनेछ। अपराह्न २ बजे अत्तरियामा कार्यक्रम हुनेछ भने ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली निकालिनेछ।

ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा विशेष कार्यक्रम आयोजना हुनेछ। अपराह्न ३ देखि ५ बजेसम्म धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्‍याली निकालिनेछ। त्यसपछि साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरी ट्रफी टुर समापन गरिने कार्यक्रम छ।

एनपीएलको च्याम्पियन्स ट्रफीलाई प्रदेशका विभिन्न जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलमा पुर्‍याएर क्रिकेटको प्रवर्द्धन गर्ने, खेलप्रति जनचासो बढाउने र प्रतियोगिताको उत्साह स्थानीयस्तरसम्म फैलाउने लक्ष्यसहित ट्रफी टुर आयोजना गर्न लागिएको हो।