चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल १२ दिने चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको हो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको थियो। भेटमा दुई पार्टीबीच आपसी समझदारी, सम्बन्ध विस्तार तथा आगामी सहकार्यका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।

टोलीले चीनका विभिन्न विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकनसमेत गरेको थियो। त्यसक्रममा भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनलाई चिनियाँ बजारमा पहुँच विस्तार तथा नेपालमा चिनियाँ लगानीका सम्भावनाबारे छलफल भएको थियो।

त्यस्तै, युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा र पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी भित्र्याउने विषयमा पनि संवाद भएको रास्वपाले जनाएको छ।

भ्रमणका क्रममा भएका छलफललाई कार्यान्वयनमा लैजान सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग आवश्यक पहल गर्ने पार्टीले जनाएको छ।