काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै कांग्रेस सभापति गगन थापालगायतका नेताविरुद्ध बयान दिए रिहा गरिदिने, नदिए फसाइदिने भन्दै दबाब दिइएको भन्ने उजुरीको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
उनले मानवअधिकार आयोगमा दर्ता भएको उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्।
पारदर्शितालाई लोकतन्त्रको आधारभूत स्तम्भ उल्लेख गर्दै शर्माले इनम प्रकरणलाई सस्पेन्स थ्रिलरका रूपमा प्रस्तुत नगरी यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकले घटनाको वास्तविकता जान्न पाउने अधिकार सुरक्षित हुनुपर्ने उनको भनाइ छ।
षड्यन्त्रका तह क्रमशः खुल्दै गएको भन्दै उनले अब घटनाको पर्दा पूरै खोल्नुपर्ने धारणा राखेका छन्। प्रकरणको वास्तविकता जे भए पनि निष्पक्ष र पारदर्शी छानबिनका लागि संसद्ले अग्रसरता लिनुपर्ने उनले बताएका छन्।
कांग्रेस सभापति गगन थापासहित शीर्ष नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित इनम सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्।
आफू र आफ्नो परिवारको जीवनरक्षाको माग गर्दै सापकोटाले पत्नी कविता पाण्डे (सापकोटा) मार्फत आयोगमा उजुरी दर्ता गराएका हुन्।





