कोभिड– १९ का कारणले आज थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक एक जनाको कोभिड– १९ का कारणले मृत्यु भएको जानकारी दिए।
धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड– १९ का कारण मृत्यु भएको हो । महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो ।
पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो । पुरुष दमका बिरामी रहेका थिए ।
यो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज थप ३२३ जनामा सङ्क्रमण भएको पृष्टि गरे।
आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार तीन र महिला २३२ रहेका छन् । आज नयाँ भेटिएका सङ्क्रमित जाजरकोट र डोल्पाका पनि रहेका छन् । यसरी सङ्क्रमित जिल्ला ७० पुगेको छ ।







