कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कर्णाली प्रदेश रङ्गशालामा शुक्रबार भएको खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एपीएफसँग बराबरी खेलेसँगै सुदूरपश्चिम भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
खेलको सातौँ मिनेटमा श्याम वादीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । तर, १६औँ मिनेटमा एपीएफका गणेश पुलामीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनायो ।
पहिलो हाफमा पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा खेलमा पुनरागमन गर्यो । खेलको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा पुर्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।
यसअघि सुदूरपश्चिम आफ्नो पहिलो खेलमा मधेश प्रदेशसँग पराजित भएको थियो । प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।





