काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिबार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचाको खसी बजारमा अनुगमन तथा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले बाख्रीको मासु खसीको मासु भन्दै बिक्री गर्न लागेको अवस्थामा फेला पारिएको थियो। प्रहरीले उनीहरूको साथबाट अन्दाजी ५६७ किलो बाख्रीको मासु बरामद गरेको छ। साथै, मासु ओसारपसारमा प्रयोग गरिएका बीएडी ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सोरुकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा रहेका छन्।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ, ठेगाना नखुलेका २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।






