तुइनखोलामा पहिरो रोकथामको काम, नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ देखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।

तुइनखोलामा वर्षायामसँगै हिउँदमा समेत पहिरो खस्ने समस्या बढेपछि दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधिमार्फत काम अघि बढाउन लागेको हो।

पहिरो प्रभावित भिरको ढुङ्गा हटाउने, स्लोप व्यवस्थापन गर्ने, नेलिङ प्रविधिबाट क्षेत्रलाई मजबुत बनाउने, पानी निकासका लागि होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ विधि अपनाइनेछ।

गत असोजदेखि रोकिएको काम पुनः सुरु गर्न लागिएको हो। सडक डिभिजनका अनुसार प्रभावकारी रूपमा काम सम्पन्न गर्न कम्तीमा १५ दिन सडक बन्द गर्नुपर्ने अवस्था छ।

यस अवधिमा काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग र समयको व्यवस्थापन गरी यात्रा गर्न आग्रह गरेको छ।