कात्तिक, १६ बागलुङ । लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक/स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४३औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख भ्युज बटुलेको छ ।
मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गरेका थिए । भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक र भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ । गीतमा समाजको उत्थान र विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोजेकाछिन् । जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको छ ।
यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको छ । प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पु¥याएको योगदानको चर्चा गरिएको छ । लाहुरे र तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको छ । देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन र मुना थापामगरको स्वर छ ।
सङ्गीत र शब्द पनि खत्रीकै छ । सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाएका छन्। देउसीको भिडियो निर्देशन होम गुरुङले गरेका छन् छ भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय छ । गायक खत्रीको जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा देउसीको छायाङ्कन गरिएको छ ।







