ब्याजदरमा बैंकहरूको मनपरी, दशककै सबैभन्दा कम ब्याजदर

कात्तिक १७, काठमाडौं ।
निरज श्रेष्ठले एक बैंकको बचत खातामा केही रकम राखेका थिए । ब्याज दर ६ प्रतिशत हाराहारी थियो । ब्याज आइरहेको छ भने उनी ढुक्क थिए । जेठपछि बैंकहरुले ब्याज घटाउन थाले ।

आफ्नो ब्याज कति भएछ भनेर उनले बुझ्दा २ प्रतिशतमा आइसकेको रहेछ । तर, ब्याज घटेको सूचना बैंकले उनलाई दिएन । ‘जन्म दिनको शुभकामना’ भनेर म्यासेज पठाउने बैंकले ब्याज घटेको ’एसएमएस’ धरी उनलाई पठाएन ।

‘यो त अत्ति भयो’ भन्दै उनले बैंकलाई सोधे । बैंक कर्मचारीले जबाफ दिए, ‘अहिले ब्याज घटेको छ । तपाइँलाई बढी चाहिन्छ भने एकाउन्ट स्वीच (बढी ब्याज भएको खातामा सार्ने) गरिदिन्छौं ।’

उनले बढी दिन्छौँ भनेको ब्याज पनि पहिलेको भन्दा निकै कम थियो ।

निरज खाता सारेर बढी ब्याज दिने भए ठिकै छ नि भनेर सहमत भए । बेलुका निरजको मोबाइलमा बैंकको एसएमएस आयो । ‘खाता सारेको शुल्क ५०० रुपैयाँ काटियो’ भन्दै ।

‘हामी बैंकमै काम गरेका र बैंकिङ बुझेकासँग त यस्तो ब्यवहार छ भने सिधासाधा ग्राहकलाई बैंकहरुले के गरिरहेका होलान्,’ एक बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठले भने ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल तीन करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता छ । यसमध्ये अधिकांश बचत खाता छन् ।

बचत खातामा मात्र बैंक तथा वित्तीय संस्थाको १२ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप छ । बचत खातामा ब्याज दर साढे ६ प्रतिशतसम्म हुँदा न्यूनतम ब्याज साढे चार प्रतिशत थियो । यसको औसत साढे ५ प्रतिशत हुन्छ ।

आज न्यूनतम डेढ र अधिकतम चार प्रतिशत छ । यसको औसत २.७५ प्रतिशत हुन्छ ।

औसत दरलाई आधार मान्दा पनि बैंकहरुले साधारण निक्षेपकर्तालाई दिँदै आएको ब्याजमा अहिले ३५ अर्ब रुपैयाँ कम भुक्तानी गरिरहेका छन् ।

बैंकहरुले ब्याज बढाउनु पर्यो भने चौतर्फी हल्लाखल्ला गर्ने गर्थे । तर, त्यही खाताको ब्याज भने ग्राहकलाई समेत थाहा नदिइ ह्वात्तै कम गरिदिन्छन् ।

‘बैंकहरुले नाफा बढाउन खोज्नु स्वभाविक हो । तर, सर्वसाधारण निक्षेपकर्तालाई ठूलो मार पर्ने गरी यस्तो गर्नु गलत कुरा हो । पहिले पहिलेको घटनाबाट पनि सिक्नु पर्ने हो बैंकहरुले । त्यो सिकेको देखिएन,’ निरजको गुनासो छ, ‘बढाउँदा पनि बेपत्ता बढाए । घटाउँदा पनि मनपरी घटाएका छन् । एकदमै छोटो दृष्टिकोण लिएर काम गरेको देखियो । जसरी पनि नाफा घट्नु हुँदैन भन्ने देखियो । यो अभ्यास परिपक्व बैंकिङ होइन ।’

उनको बुझाइमा, थोरै ब्याज भएको खाताबाट धेरै ब्याज भएको खातामा पैसा सार्नु बैंकहरुको आन्तरिक काम हो । यसमा ग्राहकसँग थप शुल्क असुल गर्नु गलत हो ।

‘राष्ट्र बैंकले सबै कुरामा चार्ज(शुल्क) नलिउ भन्नु पनि जायज होइन । साथै बैंकहरुले आन्तरिक कामका लागि जेमा पनि शुल्क लिनु पनि राम्रो होइन,’ उनले भने, ‘यो गलत अभ्यास हो ।’

बैंकहरुले विगतमा तरलता अभाव भएर ऋण दिने पैसा नहुँदा निक्षेपकर्ताको ब्याज ह्वात्तै बढाएका थिए । ब्याज अनियन्त्रित ढंगले उक्लिएपछि राष्ट्र बैंक र अर्थमन्त्रालयको अग्रसरतामा निश्चित प्रतिशतभन्दा माथि नलैजाने भद्र सहमति नै गरेका थिए । अहिले घट्ने दर पनि अनियन्त्रित भइरहेको छ ।

यस्तोमा बैंकहरुले निक्षेपकर्तालाई असर नपर्ने गरी ब्याजमा एउटा सीमा निर्धारण गर्नु पर्ने पुराना बैंकरहरु बताउँछन् । ‘उच्च दरले नबढोस् भनेर भद्र सहमति गर्ने हो भने तीव्र दरमा झर्न नदिन पनि केही गर्नु आवश्यक हुन्छ,’ बैंकिङ विज्ञ बीएन घर्तिले भने, ‘ब्याज तीव्र दरमा झर्दा बैंकमा निक्षेप राख्न बचतकर्ता निरुत्साहित हुन्छन् ।’

राष्ट्र बैंक पनि बैंकहरुको काम कार्वाहीप्रति खुसी छैन । गभर्नरले सार्वजनिक र ब्यक्तिगत रूपमा निक्षेपकर्तालाई मार पर्ने गरी ब्याज नघटाउन भनिरहेका छन् । तर, बैंकहरुले मुद्दती निक्षेपमा केही बढी ब्याज दिए पनि बचत खाताको ब्याज भने ह्वारह्वार्ती घटाइरहेका छन् ।

कोभिड–१९ का कारणले बजारमा निश्चित प्रकृतिबाहेकका ऋणको माग छैन । यसले तरलता बढाइरहेको छ । अधिक तरलता भएका कारण ऋणको ब्याज घटाउनु पर्ने दवाब छ । साथै ऋणको ब्याज घटाएर नयाँ ब्यापार पनि बढाउनु पर्ने छ । यो दवाबका बीच बैंकहरुले आधार दर कम गर्ने हतियारका रूपमा साधारण बचतको ब्याज कटौतीलाई प्रयोग गरिरहेका हुन् ।

‘ऋण बिस्तारका लागि बैंकले ब्याज घटाएका हुन् । सीमित बाहेक ब्याज घटेकै कारण ऋण बिस्तार हुने अवस्था अहिले छ जस्तो लाग्दैन,’ निरजले भने, ‘बैंकहरुले आफूलाई परिपक्व ढंगले अगाडि बढाउनु पर्छ । बचतकर्तालाई निरुत्साहित गर्दा यसले विश्वासमा पनि गिरावट आउन सक्छ ।’

अहिले बैंकहरुसँग अधिक भएको तरलता उठाउन राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन सुरु गरिसकेको छ । तर जुन हिसाबले तरलता बढिरहेको छ, त्यो अनुपातमा ऋण बिस्तार नभएकाले ब्याज माथि जान सकिरहेको छैन ।

राष्ट्र बैंक भने अधिक तरलतालाई देखाएर बैंकहरुले मनपरी ढंगबाट बचतको ब्याज दर झार्न नहुने बताउँछ । बचतको ब्याज घटाउँदा बैंकिङ प्रणालीभित्र रहेको पैसा सहकारीमा जाने, भारत पलायन हुने भन्दै राष्ट्र बैंक डराएको छ ।

‘हामीले अनिवार्य तरलता अनुपात (सीआरआर) ६ प्रतिशतबाट ३ प्रतिशतमा झारिदिएका कारण तरलता अधिकजस्तो देखिएको हो,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘ऋणको ब्याज तल आओस् भनेर सीआरआर घटाइएको हो । त्यसरी उपलब्ध गराएको तरलता फेरि राष्ट्र बैंकले नै किन्ने कुरा कुन तर्कमा पर्छ?’ बैंकहरुले अहिले संयमता देखाएर बचतको ब्याज दर तल झार्न नहुने उनले बताए ।

‘आज असामान्य अवस्थामा पनि मासिक ९० अर्ब रुपैयाँ हाराहारी आयात भइरहेको छ । केही समयमै अवस्था सामान्य भएपछि आयात बढ्छ । अन्यतिर ऋणको माग हुन थाल्छ,’ उनले भने, ‘त्यो बेला फेरि निक्षेपकर्ता खोज्दै हिँड्नुपर्ने अवस्था आउने छ । त्यसैले यसमा बैंकहरुले संयमता देखाउन आवश्यक छ ।’

जब जब बैंकहरुले निक्षेपको ब्याज घटाएका छन्, त्यसबेला बचत कुल गार्हस्थ बचत घट्ने गरेको उनले सुनाए । जस्तो, २०७२ मा निक्षेपको भारित औसत ब्याज दर ३.२८ प्रतिशत हुँदा बचत ४.१ प्रतिशत थियो । अर्को वर्ष अर्थात ०७३ सालमा ६.५ प्रतिशत ब्याज पुग्दा बचत १३.४ प्रतिशत भएको थियो ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याज दर धेरै तल नलैजान मौखिक रूपमा भने पनि नीतिगत निर्णय भने गरेको देखिँदैन । सरकारी क्यालेन्डर अनुसार उसले आन्तरिक ऋण उठाइदिएको छ । त्यसबाहेक अन्य औजारहरुको प्रयोग उसले गरेको छैन ।

‘ब्याज करिडोरलाई नियमित गर्ने हो भने मात्रै पनि ब्याज दर एउटा सीमामा बस्थ्यो,’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘बचतको ब्याज धेरै तल आउँदा बचत गर्नेलाई अन्याय हुन्छ ।’

सामान्यतया बचतको ब्याज दर मुद्रास्फीति दरभन्दा केही माथि हुनु पर्छ भन्ने मान्यता छ । बैंकहरु मुद्दती निक्षेपको ब्याज मुद्रास्फीतिभन्दा माथि हुनु पर्ने नयाँ खालको तर्क गर्न थालेका छन् ।

भदौसम्मको तथ्यांक हेर्दा मूद्रास्फीति दर ४.५२ प्रतिशत छ । बचतको औसत ब्याज दर भने ३.३३ प्रतिशत छ । यो मूद्रास्फीति दरभन्दा तल हो । मुद्दती ब्याज भने ८.६८ प्रतिशत छ । कुल औसत ब्याज दर ५.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो भदौसम्मको तथ्यांक हो । त्यसपछि बैंकहरुले बचतको ब्याज दरमा अझै कटौती गरिसकेका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा अहिलेको बचतको ब्याज दर दशककै सबैभन्दा कम हो ।