रक्सौल नाका खोल्न कांग्रेस र व्यवसायीको माग

कात्तिक १८, वीरगञ्ज ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले सीमामा देखिएको अवातजावतको समस्या समाधानका लागि सोमवार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

उच्च सतर्कता अपनाएर वीरगंज–रक्सौल नाका खोल्न नेपाल सरकारसँग माग गरिएको छ । क्षेत्रीय कार्यसमिति प्रदेशसभा ’ख’ का सभापति अरबिन्द गुप्ताको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझएका हुन् ।

पत्रमा भारतले आफ्नो तर्फबाट सीमा खोलेपनि नेपाल सरकारले अहिलेसम्म रोकेका कारण दुई देशबीच आवतजावत गर्न समस्या भइरहेकोले तत्काल समस्याको समाधान गर्न माग गरिएको छ ।

हिन्दुहरुको चाडपर्व नजिकिएका बेला पूजापाठदेखि लत्ताकपडा खाद्यान्नहरु भारतबाट किनेर ल्याउने चलन रहेकाले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई धेरै समस्या भएको भन्दै तत्काल सीमा खोल्न पहल गरिदिन प्रमुख जिल्ला अधिकारी तामाङसँग ज्ञापन पत्रमार्फत माग गरिएको हो ।

तराई मधेशका प्रमुख नाका वीरगंज रक्सौल रहेको दुवै देशका जनताहरुबीच रोटीबेटीको सम्बन्ध रहेकोले चैत ११ गतेदेखि बन्द गरिएको सीमानाका नखोल्दा वीरगंजका व्यापारीहरु समस्यामा पर्ने गरेकोले तुरुन्त नाका खोल्ने वातावरण मिलाई दिन सो पत्रमा माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले केन्द्रीय संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा सीमा बन्द भएकोले सीमा खोल्न केन्द्रको निर्णय नै चाहिने बताए । भारतले एकतर्फी सीमा खोलेको आफूलाई जानकारी आएकोले सीमाको समस्या समाधान चाँडै हुने आश्वासन दिए ।