कात्तिक १९, चितवन ।
सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि उनीहरूले वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् ।
लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र कोलाहलका कारण सुनसान ठाउँतर्फ केन्द्रित हुने गरेका वन्यजन्तु यतिबेला जीपमार्ग आसपास नै पर्याप्त देखिने गरेका छन् ।
निकुञ्जभित्र जीप सफारीमा जाने जोकोहीका लागि सफारी रोमाञ्चक बन्ने गरेको छ । तीन दिनअघि पर्यटक बोकेर गएका जीपचालक प्रताप परियार जीप वरिपरि बाघ लामो समय रहेपछि पर्यटक निकै रमाएको बताउँछन् ।
उनले भने, ‘निकुञ्जको रानीखोला नजिकै लघुना ताल छ । त्यसको आडैमा अजङ्गको बाघ भेटियो । २० मिनेट जति हाम्रो पछिपछि आयो,’ उनले थपे, ‘एक जना आमा र उहाँका छोराछोरीले भिडियो खिचेर निकै रमाइलो गरे ।’क यस्तो अवसर पर्यटकले कम मात्रै पाउने भए पनि अहिले धेरैपछि खुलेकाले सम्भावना निकै हुने गरेको उनको भनाइ छ ।
समूहमा गैँडा, मृग, चित्तल, गौरीगाई, बाँदर सहजै देखिने गरेको उनी बताउँछन् । विगतमा गैँडा देखाउनसमेत ठूलै कसरत गर्नुपर्ने भए पनि अहिले सहजैरूपमा प्रायः सबै जनावर देख्न सकिने परियारको अनुभव छ ।
ललितपुर सानागाउँकी पिङ्की शेर्पा चार साथीसहित जीपमा निकुञ्ज घुम्दै गर्दा निकै रमाइलो भएको अनुभव सुनाउँछिन् । लामो समयपछि खुलेर हो वा सधैँ यस्तो हो, आफूलाई थाहा नभएको भन्दै उनले भनिन्, ‘दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मृगजस्ता जनावर सजिलै नजिकैबाट हेर्न पाउँदा स्वर्णिम अनुभव हुँदोरहेछ ।’
पहिलोपटक चितवन राष्ट्रिय निकुञ्ज घुम्न पुगेकी शेर्पालाई जीवनमा एकपटक यो निकुञ्ज सबैले हेर्नैपर्छ जस्तो लागेको बताइन् । निकुञ्जको मुख्य कार्यालय कसराको घडियाल प्रजनन केन्द्र, डुङ्गा सयरजस्ता पर्यटकीय गतिविधिले पनि आफूलाई निकै लोभ्याएको उनको भनाइ छ ।
सामुदायिक वनमा हात्ती सफारीका क्रममा पनि दुर्लभ, अन्य जनावर र चराचुरुङ्गी सहजै देख्न पाएपछि पर्यटक निकै रमाउने गरेको पर्यटन व्यवसायी सुमन घिमिरे बताउँछन् । उनले भने, ‘निकुञ्ज घुमेर आएका पर्यटक निकै रमाउने गरेका छन् ।’ जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेले थपे, ‘लामो समयपछि पर्यटकीय गतिविधि खुलेकाले जसले निकुञ्ज घुम्ने अवसर पाएको छ, उसले निकै ठूलो मौका पाएको छ ।’
पहिलेभन्दा कम खर्चमा धेरै जनावरको अवलोकन गर्न अहिले पर्यटकले पाएका छन् । यहाँको मौसम पनि अहिले घुम्नका लागि निकै अनुकूल छ ।
घिमिरेको भनाइमा निकुञ्ज घुम्न आउने पर्यटकले निकुञ्जबाटै हिमाल पनि देख्न पाएका छन् । यो साता मौसम खुलेकाले चितवनका विभिन्न ठाउँबाट हिमाल सहजै देखिने गरेको छ ।
गर्मी जिल्लाको रूपमा परिचित चितवनमा यतिबेला न गर्मी छ न जाडो । दिउँसो घाम ताप्नुपर्ने र राति सिरक ओढ्नुपर्ने उपयुक्त वातावरण भएकाले धेरैको आकर्षण निकुञ्ज घुम्ने भएको घिमिरेको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लामो समयपछि निकुञ्ज खुलेकाले पर्यटक कम भए पनि धेरै जनावर हेर्ने अवसर पाएको बताउँछन् । उनले भने, ‘जो–जतिलाई घुम्ने अवसर मिलेको छ, उहाँहरुले धेरै जनावर हेर्न पाउनुभएको छ ।’
क्रमशः पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । निकुञ्जभित्र जीप सञ्चालन हुने बाटो क्षेत्रमा गत वर्षहरुमा मानवीय चाप बढी हुने हुँदा जनावर टाढाटाढा भाग्ने भए पनि यतिबेला बाटोको आसपासमा नै विचरण गरेको देख्न सकिने बरालको भनाइ छ ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । काठमाडौँ र पोखरापछि सबैभन्दा बढी पर्यटक यहाँ आउने गर्दछन् । निकुञ्जमा बाघ, एकसिङ्गे गैँडा, गौरीगाई, लघुना, घडियाल गोही, मृग, जरायो, अर्नालगायतका जनावर, चराचुरुङ्गी, वनस्पतिको अध्ययन अनुसन्धान र अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् । (रासस)







