अमेरिकी चुनावका कारण बढ्यो डलरको मूल्य

कात्तिक १९, काठमाडौं ।
अमेरिकी चुनावको प्रभाव मुद्रा विनिमय बजारमा देखिएको छ । चुनावका कारण डलरको भाउ उकालो लागेको छ ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कमजोर रहेको सर्वेक्षणहरू आउन थालेपछि डलर बलियो बन्दै गएको छ । अमेरिकालगायत संसारभरका सेयर बजारमा पनि उछाल देखिएको छ ।

बुधबार एक अमेरिकी डलरको भाउ एक सय १९ रुपैयाँ ३६ पैसा पुगेको छ । अघिल्लो दिन एक सय १८ रुपैयाँ ८७ पैसा थियो । डलरको भाउ अझै बढ्ने अनुमान गरिएको छ ।

डलरसँगै अन्य देशका मुद्रा पनि बलियो बन्दै गएका छन् । खासगरी नेपाली रोजगारीका लागि पुग्ने खाडी मुलुकको मुद्रा पनि केही समयदेखि बलियो बन्दै गएको छ ।

डलर बलियो हुँदा विदेशमा रहेका नेपालीलाई रेमिटेन्स पठाउँदा फाइदा हुन्छ । आयातित सामानका लागि भने नेपालीले बढी पैसा तिर्नु पर्ने हुन्छ ।