सिमकोट विमानस्थलमा बढ्न थाले यात्रु

कात्तिक २०, हुम्ला ।
यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरबाट हुम्लास्थित घर पुगका विद्यार्थी फर्किन थालेका छन् ।

काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका लागि भन्दै जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।

बन्दाबन्दीपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थाले पनि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेका विद्यार्थीहरु दशैँ सकिएलगत्तै बाहिरिन थालेका हु्न् । जिल्लाबाहिर जानेको सङ्ख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्लाबाहिर गहिरहेको विमानस्थल कार्यालयको तथ्यांक छ ।

नेपालगञ्ज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म आफ्नो उडान भर्दै आएका निजी हवाईजहाजहरुले एक महिना यतादेखि विमानस्थलको स्तरोन्नति कार्य भइरहेकाले बिहान ६ बजेदेखि १० सम्म मात्रै उडान भर्ने हुँदा यात्रुलाई टिकट पाउन भने समस्या भएको छ । (रासस)