क्युबा र क्युबाको स्वास्थ्य प्रणाली

आज संसारमा कोरोना नामको भाइरसले विश्वकै अर्थतन्त्रमा बलियो मानिएका देशहरुलाई पनि हायल-कायल बनाएको छ। तर अमेरिकाले विगत ५० वर्षभन्दा पनि बढि समयसम्म प्रतिबन्ध लगाएको र समाजवादको ज्वलन्त उदाहरण बनेको देश ‘क्युबा’ले भने आफूले उत्पादन गरेका डाक्टरहरु कोरोनाको विरुद्ध विभिन्न देशमा लड्नको लागि खटाएको छ। यो भन्दा दरिलो झापड के हुन सक्ला र भुमण्डलीकृत पूँजीवादको लागि ?

यो यत्तिकै सम्भव भएको होइन। यसमा ‘चे ग्वेभारा’को रगत-पसिनाको मेहेनत मिसिएको छ र ‘फिडेल क्यास्त्रोको’ पनि उत्तिक्कै योगदान छ। क्युबाको समाजवादी नीति र नि:शुल्क शिक्षा र स्वास्थ्यको कुरा गरिरहँदा यि दुई पात्रहरुलाई नसम्झनुको औचित्य रहन्न र उनीहरुको त्याग, तपस्या र बलिदानको जति गुनगान गाए पनि कम हुन्छ ।

फिडेल क्याष्ट्रोले सन् १९४९ मा सत्ता सम्हाल्दा त्यहाँको स्वास्थ्य अवस्था धरासायी थियो । धेरै डाक्टरहरु काम गर्न छाडी विदेश पलायन हुन थालेका थिए । सन् १९६० मा उनले सबै स्वास्थ्य संस्थाहरुको निजीकरण अन्त्य गरेर सरकारीकरण गरिदिए । १९७६ मा “स्वास्थ्य माथिको अधिकार” भन्ने अवधारणा लिएर आए, त्यो पनि नि:शुल्क । फलस्वरुप आज क्युबामा स्वास्थ्य र शिक्षा नि:शुल्क छ र देशभरि नै समान सुविधा छ। यो स्वास्थ्यमा समाजवादको उत्कृष्ट उदाहरण हो ।

आखिर कसरी सम्भव भयो त एउटा विकाशोन्मुख, अमेरिकाले प्रतिबन्ध लगाएको र अर्थतन्त्रमा धेरै तल रहेको देशले स्वास्थ्यमा गुणस्तरको हिसाबले अमेरिकाभन्दा माथि उभिन ? क्युबामा समाजवादी व्यवस्था छ । त्यहाँ पुरानै मोडलका गाडीहरु गुडेका होलान्, सडकमा चिल्लो पत्रे नहोला, स्ट्रिट लाईट पर्याप्त नहोला तर त्यहाँ कोही भोको र नाङ्गै सडकमा भीख माग्दै हिँडेको वा बिरामी भएर उपचार नपाई छट्पटाएको कही कतै देख्नुपर्दैन । सबैको लागि स्वास्थ्यको पहुँच छ, २० मिनेटको दुरिमा, त्यो पनि नि:शुल्क र गुणस्तरीय विशेषज्ञ सेवाको सुविधा सहित ।

आज क्युबाको प्रत्येक व्यक्तिको औसत आयु ७८ वर्षको छ, क्युबाले कुल ग्राहस्थ उत्पादनको ८-९ प्रतिशत स्वास्थ्यमा लगानी गर्छ, प्रत्येक १० हजार जनसङ्ख्याको लागि ६७.२ डाक्टर उपलब्ध छन् । डाक्टर बिरामीको अनुपात १:१७० छ । क्युबाले “रोकथाम उपचार भन्दा राम्रो” भन्ने भनाईलाई आत्मसात गर्दै रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिनको लागि प्राथमिक स्वास्थ्य प्रणालीमा जोड दिँदै आएको छ । रोग लाग्न नदिनको लागि बासस्थानको वार्षिक अवलोकन, खानपान व्यवस्थाको अनुगमन डाक्टर र नर्सको टोली गएर गर्दछन्, साथ साथै शारिरीक व्यायाममा पनि जोड दिँदै ६० बर्ष उमेर पुगेकाहरुलाई शारिरीक व्यायाम पनि सिकाईन्छ ।

चिकित्सा शिक्षाको लागि शुल्क तिर्नु पर्दैन । हरेक राज्यमा त्यहाँको जनसङ्ख्याको आधारमा मेडिकल कलेज छ, जुन राज्यको विद्यार्थी हो त्यही राज्यमा पढेर आफ्नो पढाई सकिएपछि त्यही राज्यको जनताको सेवामा खटिन्छन् । बस्ने, खाने व्यवस्था त्यहाँको सरकारले नै गर्दछ । प्रत्येक वर्ष क्युबाले आफ्नै देशमा उत्पादन गरेका हजारौं डाक्टरहरु संसारको कुनाकाप्चामा अरु देशका जनताले स्वास्थ्य सेवा प्राप्त गरुन् भनेर पठाउने गर्दछ । क्युबामा १३ वटा विश्वविद्यालय र २५ वटा मेडिकल कलेज संचालनमा छन् ।

चिकित्सकीय अनुसन्धान तर्फ पनि क्युबाले उत्तिकै सफलता हात पारेको छ । हेपाटाइटिस बि, सोरियासिस डाइबिटिक फूटको उपचारको लागि क्युबाले नयाँ पद्धतिको विकास गरेको थियो । क्युबामा “कन्स्लटेरियो” बिरामीहरुको पहिलो स्वास्थ्य पहुँचको ठाउँ हो, जहाँ हरेक ५००-६०० बिरामीहरुको लागि एउटा कन्स्लटेरियोको व्यवस्था हुन्छ र चौबिसै घन्टा एक फेमेली डाक्टर र एक नर्स सेवामा खटिएका हुन्छन् । “पोलिक्लिनिको”मा कन्सलटेन्टले नै हेर्नु पर्ने केसहरु मात्रै जान्छन् ।

फिडेल क्याष्ट्रोले भनेका थिए “हामीलाई केमिकल, बायोलोजिकल हतियार बनाउनु छैन, संसारको कुना कुनामा बम पड्काउनु छैन, हामीलाई संसारको कुनाकुनामा डाक्टरको अनुहार देख्न नपाएको र उपचारको पहुँच नभएको ठाउँमा हाम्रो डाक्टरहरु खटाउनु छ ।”

क्युबाको स्वास्थ्य प्रणालीको सफलताको प्रमुख कारण पूँजीवादको ईशारामा नाचेर कर्पोरेटलाई स्वास्थ्य क्षेत्रको जिम्मा नदिनु हो । आज पूँजीबादलाई नै अङ्कमाल हालेर सबै जसो देशमा स्वास्थ्यको जिम्मा निजी (कर्पोरेट) क्षेत्रलाई दिइएको छ, नेपाल पनि यो मामिलामा अछुतो छैन। कर्पोरेटले गुणस्तर भन्दा पनि नाफाको व्यापार गर्दछ, फाईदा हेर्दछ । अनि शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर्पोरेटलाई जिम्मा दिनु कत्तिको उचित वा अनुचित हो आफै बुझ्न सकिन्छ ।

नेपालको कुरा गर्दा नेपालको स्वास्थ्य प्रणालीको अवस्था नाजुक छ। कर्पोरेटको लगानी धेरै देखिन्छ सरकारको भन्दा पनि । नेपालमा हाल जम्मा २० वटा मेडिकल कलेजहरु सञ्चालनमा छन् जस मध्ये ५ वटा सरकारी र १५ वटा प्राइभेट । स्वास्थ्य सेवाको पहुँच सबैलाई समान रुपमा उपलब्ध भएको छैन । काठमाडौं (शहरी क्षेत्र)मा डाक्टर र बिरामी को अनुपात १:८५० छ भने ग्रामिण भेगमा १:१५०००० रहेको छ । समग्रमा १:१७२४ (बिश्व स्वास्थ्य सङ्गठनको अनुसार १:१००० सम्म हुनु पर्ने) डाक्टरहरुको आवश्यकता धेरै रहेको तर स्वास्थ्यमा राज्यले कुल आम्दानीको जम्मा ५ .८ % मात्रै लगानी गरेको पाइन्छ । स्वास्थ्य शिक्षाको शुल्क पनि धेरै महङ्गो छ (सरकारीमा नि:शुल्क बाहेक) जसले गर्दा प्रतिभा भएका तर पैसा नभएकाहरु पढ्नबाट बञ्चित हुनु परेको छ ।

आवश्यकता अनुसार जनशक्ति आपूर्ति नहुँदा ग्रामिण भेगका जनताहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको पाइन्छ। पूँजी र पहुँच भएकाहरुले मात्र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु दुखद् कुरा हो । हाल नेपालमा जम्मा २५००० को हाराहारीमा चिकित्सकहरुको सङ्ख्या छ जसमध्ये सरकारी चिकित्सकहरुको सङ्ख्या १५०० छ । स्वास्थ्यको सबै जिम्मा सरकारले लिनुको सट्टा उल्टै पूँजीबादको झोला बोकेको कर्पोरेटलाई दिएर नाफाखोर रणनीति अपनाइएको छ ।

आज कोरोना महामारीभन्दा पनि पूँजीबाद महामारीलाई रोक्नुपर्ने आवश्यकता भएको छ र कोरोनाले बिग्रेको हाम्रो प्रणालीलाई उदाङ्गो बनाइदिएको छ । अझै पनि हामीले सिकेर अनुशरण गर्न सक्छौँ । अमेरिका, जापान, इटलीको स्वास्थ्य प्रणालीमा सबैको आँखा जाने गरेको छ तर ‘क्युबा’ जस्तो बिकासोन्मुख देशले आजको बिश्वसामु आफूलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुँदै कर्पोरेटको दुनियाँबाट टाढै रहेर पनि सफलता हासिल गरेको तर्फ धेरैको ध्यान जान सकेको छैन ।

नेपालले क्युबाको स्वास्थ्य प्रणालीबाट सिक्ने र आफ्नो देशमा लागू गर्नु पर्ने धेरै कुराहरु छन् । यो सबै असम्भव भने पक्कै छैन, आवश्यक छ त राजनीतिक प्रतिबद्धताको । अबको पुस्ताको लडाईँ भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य व्यवस्थाको लागि हुनुपर्ने देखिन्छ । स्वास्थ्यको निजीकरण हटाएर सबैलाई सरकारीकरण गरिनु पर्दछ । जबसम्म पूँजीवादीहरुको ईसारामा स्वास्थ्यको व्यापार हुन्छ, तबसम्म गुणस्तरीय स्वास्थ्यमा निम्न र मध्यम वर्गको पहुँच हुँदैन । अनि सफ्टवेयर कम्पनीका मालिक बिल गेट्स जस्ता धनायढ्हरुले स्वास्थ्यको नाफाखोर व्यापार गरेर नाफा खोजिरहन्छन् ।

हामीले हाम्रो ज्ञान र सीपको प्रयोग गरौं, सकेसम्म आफ्नो देशको छुट्टै स्वास्थ्य प्रणालीमा जोड दिऔं । जसले भविष्यमा नेपाल पनि स्वास्थ्य क्षेत्रमा एउटा उदाहरण बनोस् र सबैले समान रुपमा स्वास्थ्य सेवाको उपभोग गर्न सकोस् ।

(डा. उप्रेती स्त्री तथा प्रसूति बिभाग, नेपाल मेडिकल कलेजमा रेसिडेण्ट चिकित्सक हुन् । )