भारतीय मोडेल मिलिन्द सोमनमाथि अश्लीलता फैलाएको भन्दै उजुरी

कात्तिक २२, काठमाडौं ।
आफ्नो जन्मदिनको अवसरमा गोवाको समुन्द्र तटमा बिना कपडा दौडिएको तस्वीर राखेको भन्दै मोडल तथा एक्टर मिलिन्द सोमनमाथि अश्लीलता फैलाएको अभियोग लागेको छ ।

उनले आफ्नो जन्मदिन, ४ नोभेम्बरमा गोवाको बिचमा निर्वस्त्र दौडिरहेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका थिए । उक्त तस्वीर उनकी श्रीमती अंकिता कुँवरले खिचेकी थिइन् ।

यसै कारण गोवास्थित कनकोन पुलिस स्टेशनमा उनीविरुद्ध एफआइआर दर्ता गरिएको भारतीय मिडियाले जनाएका छन् । गोवा सुरक्षा मञ्चले उक्त उजुरी दर्ता गराएको हो । सार्वजनिक स्थलमा अश्लीलता फैलाएको भन्दै उजुरी दर्ता भएको छ ।

मिलिन्दविरुद्ध भारतीय कानून, आइपिसीको धारा २९४ (सार्वजनिक स्थानमा अश्लीलता फैलाएको) र आइटी कानूनको धारा ६७ (सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर हालेको) भन्दै उजुरी दर्ता भएको हो ।

यदि आरोप प्रमाणीत भए उनले एक वर्षसम्म कैदमा बस्नुपर्ने हुनसक्छ । शनिबार उनीसँग पुछताछका लागि पुलिस स्टेशन बोलाइएको छ । (एजेन्सी)