बलिउडमा कमब्याकको तयारी गर्दै तनुश्री

कात्तिक २७, काठमाडौं ।
बलिउडबाट हराइसकेकी नायिका तनुश्री दत्त फेरि कमब्याक गर्ने तयारीमा छिन् । उनी सन् २०१० पछि पर्दाबाट हराएकी थिइन् ।

एक दशकदेखि दर्शकमाझ पर्दामा नदेखिएकी तनुश्रीले अब भने कमब्याकको तयारी गरेकी छिन् । २ बर्ष अगाडि बलिउडमा ‘मि टू’को सुरुवात उनले नै गरेकी थिइन् ।

उनै, तनुश्रीले सामाजिक संजालमा स्टाटस कोर्दै आफूले केही खराब मानिसहरुका कारण बलिउड छाड्नुपरेको उल्लेख गरेकी छिन् । तनुश्रीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी स्लिम देखिएकी छिन् ।

तनुश्रीले आफूले अमेरिकामा आइटी ट्रेनिङ्ग लिएको तर आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘केही खराब मानिसहरुका कारण मैले बलिउड छाड्नुपरेको थियो । मैले हतारमा बलिउडको विकल्प सोचेकी थिएँ । बलिउड र मुम्बई मेरो लागि विशेष छन् । यसैले अब म केही समय बलिउडमा रहन्छु र केही राम्रो प्रोजेक्टमा काम गर्छु ।’

तनुश्रीले आफूलाई केही चलचित्र र वेव सिरिजबाट अफर आइरहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफू साउथका ३ ठूला चलचित्रका प्रोजेक्टका मेनेजर र मुम्बइको १२ कास्टिङ अफिससँग जोडिएको पनि उल्लेख गरेकी छिन् ।

तनुश्रीले केही ठूला प्रोडक्शन हाउससँग चलचित्रमा मुख्य भूमिकाका लागि पनि आफ्नो कुरा भैरहेको उल्लेख गर्दै महामारीका कारण अहिले नै आफूले चलचित्रको घोषणा गर्न नसक्ने पनि उल्लेख गरेकी छिन् ।

तनुश्रीले एक व्युटी ब्रान्डको विज्ञापनमा आफूले काम गरिरहेको र १५ केजी तौल घटाएपछि आफू सुन्दर देखिएको पनि बताएकी छिन् ।

उनी अहिले ३६ बर्षकी भइन् । ‘आशिक बनाया आपने, हर्न ओके प्लिज, ढोल’ जस्ता चलचित्रमा उनले काम गरेकी थिइन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘अपार्टमेन्ट’ १० बर्ष अगाडि रिलिज भएको थियो । (एजेन्सी)