कात्तिक २९, बनेपा ।
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ । रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गरे ।
गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ ।
गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए । ‘हामीले निर्वाचनमा यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं । ती समस्या समाधान गरेका छौँ,’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताइन् । वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबै भन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढीरहेको जानकारी दिए । (रासस)







