मौलिक हक कार्यान्वयन उन्मुख छ : कानुन मन्त्री तुम्बाहाङफे

२६ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले मौलिक हक अन्तर्गत बनेका १६ वटा ऐनको नियमावली निर्माणको काम सकिएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले केही नियमावली लकडाउनका कारण अघि बढ्न नसकेको बताइन् ।

गत वर्ष मौलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण भएको र त्यसअंतर्गतका १४ वटा ऐनको नियमावली बनाउनुपर्नेमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन पहिलो संसोधन २०७५, सार्वजनिक सुरक्षा ऐन २०७५ ऐन आवश्यक नरहेको जानकारी गराइन् ।

अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावली महान्यायाधिवक्ताको कार्यालयमा गएको भन्दै लकडाउनका कारण छलफल हुन नसकेकोले रोकिएको उनले बताइन् । उनले भनिन्, ‘ नियमावली बनेको छ, अब कार्यान्वयमा जानेछ ।

यस्तै आवासको ऐन २०७५, को नियमावली अर्थमन्त्रालयमा सहमतिका लागि पुगेको र खाद्य संरक्षण तथा खाद्य संप्रभूता सम्बन्धी ऐन २०७५ अंतर्गतको नियमावली कोरोना संक्रमणपछि लकडाउनका कारण प्रदेश र स्थानीय तहमा गएर छलफल गर्न नसक्दा केही समय ढिला हुने सम्बन्धित मन्त्रालयले बताएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् ।

बाँकी रहेका ऐनको नियमावली बनाउने काम सकिएको र छिटै कार्यान्वयनमा जाने उनको भनाइ छ ।