कोरोना महामारी रोक्न प्रधानमन्त्रीको अहंकार समस्याका रुपमा देखा पर्योः कांग्रेस

२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘सबै कुरा जान्दछु’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार कोरोना भाइरसको महामारी रोक्नमा समस्याका रुपमा देखा परेको बताएको छ ।

सांसद गगन थापाले सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले कोरोना भाइरसको महामारी रोक्नमा समस्याका रुपमा देखा परेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठे लगत्तै सभामुख अग्नि सापकोटाले सांसद गगन थापालाई बोल्न समय दिए । सांसद थापाले सरकारले अदालत, संसद तथा प्रेस कसैको पनि आवाज नसुनेको आरोप लगाए ।

कोरोना महामारी नियन्त्रणका लागि काम गर्न कसले रोक्यो भन्ने प्रश्न गर्दै भने, ‘यो रोकेको केवल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको, सरकारको अर्कमण्ड्यताले रोकेको, सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था बेहोर्नुपरेको छ ।’

कांग्रेसको सोमबारको केन्द्रिय समितिको बैठकले सरकारले अब कोरोनाबाट पार लगाउँदैन भन्ने निष्कर्ष निकालेको उल्लेख गर्दै उनले भने, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छाै भनेर मात्र बस्दैनौं । अब हामी प्रश्न गर्छाै, उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं ।’

कोरोना नियन्त्रणका लागि सरकारले खर्च भएको भनेको १० खर्ब कहाँ गयो ? भनेर उनले सोधेका छन् । एक एक कुराको हिसावकिताब चाहिने भन्दै उनले अगाडि भने, ‘यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्ताको पराकाष्ठ हो ।’

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको भन्दै उनले प्रश्न गरे, ‘क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सर्नट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’

सबैले पिसिआर टेष्टको दायरा बढाउ भनेर दिएको सुझाव सरकारले नसुनेको भन्दै उनले रोष प्रकट गरे, ‘सरकार टेष्ट गर्ने साँघुरो दायरा गर्दैछ । बरु सरकारले टेष्ट गर्न नै बन्द गरिदिने र कोरोनामुक्त भन्ने । किनकी टेष्ट नगरपछि संक्रमण देखिँदैन् ।’

नेपाल भन्दा बाहिर १२७ जना नेपालीको कोभिड–१९ बाट मृत्यु भएको र नेपालभित्र १४ जनाको मृत्यु भइसक्दा पनि सरकार गम्भीर नभएको उनको आरोप छ । ‘के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’ उनले भने ।

‘भोकबाट मारिएका सुर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परियार र औषधि खान नपाएर मरेकी कंकादेवी बोहोरा वा सुत्केरी भएर अस्पताल जान नपाएकी लालकुमारी रोकायको मृत्युको जिम्मा कल्ले लिन्छ ? क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कल्ले लिन्छ ? झुण्डिएर मर्न बाध्य भएका लिला वल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिदार्थ आहुजीको जिम्मा कल्ले लिन्छ ? सांसद थापाको प्रश्न छ ।