२७ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई घरबाटै शिक्षणमा निरन्तरता दिइने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । सम्भव भएसम्मका प्रविधिको प्रयोग गरेर असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने उनले जानकारी दिए ।
सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि जवाफ दिँदै मंगलबार प्रतिनिधिसभा संसद बैठकमा शिक्षामन्त्री पोखरेलले वैकल्पिक प्रणालीबाट विद्यार्थीलाई पढाउने बताए । ‘परिवेश अनुकूल हुने गरी पढाईको निरन्तरताको तयारी गरिएको छ,’ उनले भने, ‘रेडिया, अनलाईन र टि.भी. जे बाट सम्भव हुन्छ त्यसबाट पढाईलाई निरन्तरता गरिन्छ । होम स्कुलिङका लागि बजेट उपलब्ध गराइसकिएको छ ।’
कोरोना महामारीपछिको लकडाउनले विद्यार्थीमा स्वअध्ययन गर्ने बानीको विकास भएको शिक्षामन्त्रीले बताए । ‘घर नै लघु विद्यालय बनेको छ । इन्टरनेटबाट सिक्ने बानीको विकास भएको छ,’ उनले भने । अब वैकल्पिक शिक्षा, खुला तथा दूर र अनौपचारिक शिक्षा ल्याउन प्रेरित भएको पनि उनले बताए ।
उनले कक्षा १०, ११ र १२ तथा विभिन्न विश्वविद्यालयमा स्थगित परीक्षा उपयुक्त समयमा शुरु गरिने बताए । ‘सेमेस्टर सकिएको छ र परीक्षा स्थगित छ भने अर्को सेमेस्टरको पढाइ सुरू गर्ने’ उनले भने, ‘अब शिक्षामा धेरै दिन अन्यौलता हुने छैन ।’
कोरोना महामारीका बेला पनि शिक्षा क्षेत्रमा केही बजेट वृद्धि हुनु सकरात्मक भएको उनको भनाई थियो ।







