मंसिर ४, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।
संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कात्तिक २४ गतेबाट विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।







