महामारीबीच रगत अभाव

मंसिर ४, काठमाडौं ।
कोरोनाको कहरले स्वास्थ्य क्षेत्रलाई समग्र रुपमा असर पारेको छ । खोप र औषधीको अभावमा नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको कोरोनामा राज्यको सम्पूर्ण ध्यान केन्द्रीत हुँदा गैरकोभिड रोगहरुको उपचारका सवाल छायामा परेको छ ।

त्यसमाथि थप कोरोना संक्रमण गर्ने त्रासका कारण रक्तदाताहरुको संख्या उल्लेख्य मात्रामा घट्दै जाँदा अस्पतालहरुमा रगतको अभाव भएको छ । कोरोना महामारीकालमा हत्तपत्त कसैले पनि रक्तदान गर्न मान्दैन ।

अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने, सुत्केरी हुँदा धेरै रगत बगेर जीवनमरणको दोसाँधमा परेका आमाहरुलाई आवश्यक पर्ने रगत कसरी अभाव हुन नदिने भन्ने प्रश्नले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहाललाई सधैं सताउँछ ।

स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि कोरोनाको डरले पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाइने गरेको छैन । कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् ।

त्यसैले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहाललाई राती सुत्न ओछ्यानमा ढल्कँदा होस् वा बिहान उठ्दा होस्– एउटै कुरा मनमा खेल्छ ः कसरी अस्पतालका बिरामीलाई आवश्यक पर्ने जम्मा गरेर रगतको अभाव हुन नदिने !

कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको उनले सुनाए । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु सहभागी हुने क्रम निक्कै घटेको छ ।

नेपालमा कोरोनाभाइरस कोभिड—१९ फैलन सुरु भएपछि उपत्यकाका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदा समेत प्रसुति गृहमा अभाव हुन नदिएको दाहालले बताए ।

उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीका आफन्तले रगत नपाएको खण्डमा रगतको खोजीमा धाउने गन्तव्यमध्ये प्रसुतीगृहको रक्तसञ्चार विभाग पनि एक हो ।

नेपालमा जब कोरोना संक्रमण फैलन सुरु भएपछि त्यसको असर स्वास्थ्य क्षेत्रमा बहुआयामिक रुपमा पर्न गयो । त्यसबाट रक्तसेवा पनि अछुतो रहन सकेन । कोभिड सर्ने भयले रक्तदाताहरुको संख्या ह्वात्तै घट्यो ।

फलतः रगतको अभाव हुन थाल्यो । रक्तदान कार्यक्रमको आयोजना गर्ने आयोजकले रक्तदानका लागि आह्वान गरिरहँदा केही भरथेग त भयो तर त्यो पर्याप्त थिएन । त्यस्तो कठिन परिस्थितिमा पनि प्रसुतिगृहले अस्पतालमा रगतको अभाव हुन नदिएको परशुराम दाहालको दावी छ ।

तर पहिल्लो समय केहीदिन यता प्रसुतिगृहको ब्लड कम्पोनेन्ट मेसिन बिग्रँदा समस्या सृजना भएको छ ।

यस्तो अवस्थामा रगतको आपूर्ति कसरी भइरहेको छ त ? यो जिज्ञासाको जवाफमा ‘नेपालमा महामारी फैलिएको ८ महिनायता रक्तदान कार्यक्रम र अस्पतालमा आएर अप्ठरो परिस्थीतिमा रक्तदान गरेर विरामीको ज्यान बचाइदिने सहयोगी मनहरुलाई मनोवैज्ञानिक प्रेरणा दिएर पटकपटक रक्तदान गर्न लगाएको’ उनले सुनाए ।

महामारी बढेसँगै रगत जुटाउन चुनौती बढको छ । एक महिना यता बाहिरबाट अस्पतालमा रगत नआएपछि चाडपर्व र महामारीको समयमा रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई प्रोत्साहन दिएर उनीहरुबाटै रगत जुटाउने गरिएको छ ।

बिरामीको आफन्तले रक्तदान गर्न असम्भव भएमा विगतदेखि तत्काल रगत आवश्यक पर्दा रक्तदान गर्ने व्यक्तिहरुलाई सम्पर्क गरेर सहयोग माग्ने गरेको उनले सुनाए ।

महामारी कहिले अन्त्य हुन्छ कसैलाई थाहा छैन । त्यसैले रक्तदान गर्ने इच्छुक व्यक्तिहरुलाई प्रोत्साहन दिन तथा स्वास्थ्य सुरक्षाबारे आश्वस्त तुल्याउन अति आवश्यक भएको दाहालको सुझाव छ ।

कोरोना महामारीभन्दा अघि समयसमयमा रक्तदान गर्दैै आएका मानिसहरु महामारी फैलिएपछि रक्तदान गर्न डराउने गरेको दाहालको अनुभव छ । रक्तदान गर्न इच्छुक भए पनि रगत झिक्ने व्यक्ति कतिको सुरक्षित भन्ने प्रश्न उठ्दा धेरैजसो दाताहरु रक्तदान गर्न मानसिक रुपमा तयार भए पनि ऐन मौकामा पछि हट्ने गर्छन् ।

कार्यक्रममा र अस्पतालमै पुगेर रक्तदान गर्ने व्यक्तिलाई रगत झिक्ने हामी सुरक्षित छौं भनेर विश्वास दिलाए पछि मात्रै रक्तदान गर्न तयार हुने गरेको उनको अनुभव छ । विरामीहरुलाई पूर्णतः आश्वस्त पार्नुको अलावा संक्रमण सर्न नपाओस् भन्ने उद्देश्यलेसु रक्षात्मक सामाग्री लगाएर, सामाजिक दुरी कायम गरेर रगत झिक्ने गरेको उनी सुनाउँछन् ।

नेपालमा कोरोना संक्रमित बिरामी देखापर्न थालेदेखि नै रक्तसञ्चार विभागमा काम गर्ने टोलीले उच्च सावधानी अपनाएर काम गर्दै आएको उनले बताए ।

अहिले बिरामीका आफन्त तथा रक्तदान गर्न इच्छुकलाई मनोवैज्ञानिक प्रेरणा दिएर रगत संकलन गर्ने गरेको उनले सुनाए । ‘महामारी सुरु हुँदा मास्कको अभाव हुँदासमेत डोनरहरुबाट मागेका मास्कको प्रयोग गरेर भए पनि रगत भिक्न सरिक भयौं,’ उनले भने, ‘अहिले विभागका सबै टिमले कोरोना संक्रमण हुन नदिनका लागि सुरक्षात्मक सामाग्री लगाएर मात्रै काममा खटाउँछौं ।’

अहिले सुरक्षाका अधिकतम उपाय अपनाएर रगत झिकिने भएकाले रक्तदान गर्दैमा कोरोना संक्रमित भइहालिएला कि भनेर नडराउन उनको आग्रह छ ।

‘महामारी सुरु हुँदा मास्कको अभाव हुँदासमेत डोनरहरुबाट मागेका मास्कको प्रयोग गरेर भए पनि रगत भिक्न सरिक भयौं,’ उनले भने, ‘अहिले विभागका सबै टिमले कोरोना संक्रमण हुन नदिनका लागि सुरक्षात्मक सामाग्री लगाएर मात्रै काममा खटाउँछौं ।’

कोरोनाभाइरस संक्रमण जोखिमको नाममा अस्पतालमा रगतको अभावमा बिरामीको उपचार रोकिने वातावरण सृजना हुन नहुने उनी बताउँछन् । ‘एकजनाको रक्तदानले अर्को बिरामीको उपचार हुने र जीवन बच्ने भएकोले त्यो जीवनदान जस्तै नै हो । त्यसैले अहिलेको महामारीमा सुरक्षित तरिकाले रक्तदान गर्न उनको विशेष आग्रह छ ।

केही समय यता प्रसुति गृह अस्पतालको ब्लड कम्पोनेन्ट मेसिन बिग्रिएर थन्किएको छ । प्लाज्मा बनाउने मेसिन बिग्रिँदा समस्या सृजना भएको उनले बताए ।

सो मेसिन स्थानीयले मर्मत गर्न नमिल्ने र सामान पनि नपाउने भएकाले अर्जेन्टिनाबाट कुरियरमार्फत् मगाइएको उनले सुनाए । केही दिनमा सामान आइपुग्ने र ब्लड कम्पोनेन्ट मेसिन मर्मत हुने पनि उनले जानकारी दिए ।

अहिलेको अवस्थामा ब्लड कम्पोनेन्ट बनाउन अस्पतालबाट सहयोग लिने गरेका गरेको उनले बताए । विगतमा रगत जगेडा राख्ने गरेपनि हाल भने हाल राख्न नपाएको उनको भनाइ छ ।