२७ जेठ, काठमाडौं । ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, ०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आ.व.मा सरकार तथा निजी लगानीबाट प्रवर्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत केन्द्रिय प्रसारणमा जोडिने बताए ।
उनले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन्य आयोजना सम्पन्न भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताए । देशमा हालसम्म कुल विद्युत उत्पादन जडित क्षमता एक हजार ३८६ मेगावाट पुगेको छ ।
उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आ.व.मै सम्पन्न गर्ने लक्ष्य लिइएता पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको प्रष्टोक्ति दिए । आगामी आर्थिक वर्षको शुरुवातमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उनको भनाई थियो ।
एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण करीब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी आर्थिक वर्ष सो कार्य सम्पन्न गरी निर्माणका लागि प्रक्रिया अघि बढाइने मन्त्री पुनले जानकारी दिए । यसका अतिरिक्त हरेक प्रदेशमा कम्तीमा एक ‘मेगा प्रोजेक्ट’को विकास गर्ने गरी दूधकोशी, माथिल्लो अरुण (२ मेगा सोलार, तामाकोशी ५, नौमुरे, नलगाड, जगदुल्ला, वेतन कर्णाली, फुकोट कर्णाली, चैनपुर सेती लगायत आयोजनाको विकासका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।
अन्र्तराष्ट्रिय लगानी मार्फत सार्वजनिक निजी साझेदारीमा तमोर, माडी, पश्चिम सेती र सुनकोशी–३ आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण अघि बढाइने उनको भनाई थियो । मन्त्री पुनले जलविद्युत् आयोजनाको विकासमा लगानी व्यवस्थाका लागि सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरुप जनताको जलविद्युत कार्यक्रम मार्फत निजी क्षेत्रबाट समेत लगानी सङ्कलन गरी माथिल्लो अरुण, भेरी बबई डाइभर्जन तथा तामाकोशी–५ लगायत जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण अघि बढाइने बताए ।
विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाई देशभित्र भरपर्दो विद्युत आपूर्तिको व्यवस्था गर्न प्रसारण लाइन निर्माणमा पर्याप्त विनियोजन सहित विशेष प्राथमिकता दिइएको उनको भनाइ थियो । निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा, हेटौँडा–भरतपुर–बर्दघाट, कालीगण्डकी कोरिडोर, मस्र्याङ्दी कोरिडोर आदि निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने र बुटवल–कोहलपुर, भेरी कोरिडोर, कोशी कोरिडोर, प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गरिनेछ । न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण नेपाल र भारतको संयुक्त लगानीमा अघि बढाइने मन्त्री पुनले जानकारी दिए ।
उनका अनुसार सेवालाई थप भरपर्दो बनाउँदै पहुँचमा वृद्धि गरी देशभित्र विद्युत ऊर्जाको खपत बढाउन १३२ केभी तथा ३३ केभी सबस्टेशनहरुको स्तरोन्नति तथा विस्तार गरिने छ । आगामी आ.व.मा ग्रामीण विद्युतीकरणमा समेत विशेष प्राथमिकता दिई रु चार अर्ब बजेट विनियोजन गरिएको उनले जानकारी दिए । प्रदेश नं २, वाग्मती, गण्डकी र प्रदेश नं ५ मा आगामी वर्ष पूर्ण रुपमा विद्युतीकरण गरिने उनको भनाई थियो ।
साथै प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वितरण प्रणाली विस्तारका लागि बहुवर्षीय ठेक्का सम्झौता सम्पन्न गरी आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने मन्त्री पुनले बताए । सिंचाइ र कृषिका लागि आवश्यक विद्युत सुलभ रूपमा उपलब्ध गराउन विशेष प्राथमिकता दिइने उनले बताए ।







