संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

मंसिर ५, काठमाडौं ।
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए ।

यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ । धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्दको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको हो ।

शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुने विश्वास लिएको गिरीले बताए । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ

यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफै अनुवाद गरेर राखेका हुन् । नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । (रासस)