प्रधानमन्त्री ओलीका ५ हेल्थ टिप्स

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढिरहेको कोरोना महामारीको रोकथामका लागि सरकारले चालेका कदमहरुबारे जानकारी दिन सोमबार साँझ राष्ट्रका नाममा सम्वोधन गरे । सम्वोधनको अन्त्यमा उनले स्वस्थ्य रहने टिप्सहरु यसरी प्रस्तुत गरे–

दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात गर्नुपर्छ । भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।
हालसम्मका उपायहरु हुन्– भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्ने ।
सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व छ । हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्याइरहेका छन् । तसर्थ निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु –
– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।
कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ । नभुलौं, हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो । मानव जातिले सभ्यताको इतिहासमा असाधारण प्रतिकूलताहरूको सामना गरेको छ ।
हिमयुगजस्ता अनेक कठीन समय पार गरेको छ । औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन महामारीहरूको सामना गरेर अघि बढेको छ ।
मैले पहिले पनि चर्चा गरेको छु– चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं ।
सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । हाल कोरोना महामारी विरुद्ध सबै सामथ्र्य लगाउने र कोरोना मुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध छ ।
नेपालीहरूको मनोबल उच्च छ र प्रतिरोध क्षमता पनि असाधारण छ । यस महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने मैले विश्वास लिएको छु ।
सबैमा सुस्वास्थ्यको कामना गर्दछु ।