को बन्ला अबको आइजिपी ?

२७ जेठ, काठमाडौं । आगामी असार २४ गते नेपाल प्रहरीले नयाँ आइजिपी पाउँदैछ। यसपाली पहिले जस्तो प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजी बनाउनु पर्ने अवस्था भने छैन।

असार २४ पछि हुने महानिरीक्षक (आईजी) यसपाली प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बाट नै हुँदैछ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण असार २४ मा सेवा निवृत्त हुँदैछ ।

एआईजी तारिणीप्रसाद लम्साल समेत महानिरीक्षक ज्ञवालीसँगै सेवानिवृत्त हुने भएकोले एआईजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मध्ये एक जना आईजीपी बन्ने पक्का छन् । नयाँ आईजीपीले ०७९ वैशाख १९ गतेसम्मका लागि कमान्ड सम्हाल्नेछ ।

दुबै जनाले २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् ।