३३ हजारले कक्षा १२ को परीक्षा दिँदै

मंसिर ८, काठमाडौं ।
कक्षा १२ को परीक्षा भोलि अर्थात् मंगलबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष परीक्षा हलमा सबैलाई मास्क अनिवार्य गरिएको छ ।

परीक्षाका लागि चार लाख ३३ हजार १ सय ८० विद्यार्थीले आवेदन दिएका छन् । परीक्षा विहान ८ बजे सुरु हुने भएको छ । शनिबारसमेत गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सक्ने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

प्रत्येक हलमा थर्मल गनको व्यवस्था गरिएको र ज्वरो नभएका विद्यार्थीलाई मात्रै साबुन पानीले हात धोएर परीक्षामा बस्न दिइने प्रधानाध्यापक शर्माले जानकारी दिए । परीक्षा हलमा पनि सेनिटाइजरको व्यवस्था गरिएको छ ।

कोभिड–१९ का कारण विद्यालयमै परीक्षा दिने व्यवस्था मिलाइएको छ । देशभरी ४ हजार १ सय ५ विद्यालय छन् । सम्बन्धित विद्यालयमै परीक्षा हुने भएकाले धेरै भिडभाड नहुने परीक्षा बोर्डका अध्यक्ष पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘कतिपयले चार लाख विद्यार्थी एउटै परीक्षा केन्द्रमा जम्मा गर्न लागे जस्तो प्रचार गरेका छन्, वास्तविकता त्यस्तो होइन ।’

आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

गत भदौमा बोर्डले कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो । देशभर १४ हजार विद्यार्थीले आफूले अध्ययन गरेको भन्दा फरक विद्यालयबाट परीक्षा दिन आवेदन दिएका छन् ।

यसैबीच, परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने परीक्षामा नबस्न भनेको छ । ‘उनीहरूलाई संक्रमणमुक्त भएपछि परीक्षा दिने व्यवस्था मिलाएका छौं,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल भन्छन्, ‘लक्षण नभए पनि रिर्पोट पोजेटिभ छ भने परीक्षामा सहभागी नहुनु होला ।’

परीक्षाका बेला संक्रमित भए सरकारबाट मान्यता प्राप्त प्रयोगशालाको रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने अर्यालले जानकारी दिए ।

पाठ्यक्रम केन्द्रले तोकेको विशिष्टीकरण तालिकालाई सङ्कुचन गरी परीक्षा सञ्चालन गर्न लागिएको हो । यसअनुसार विद्यालयहरूले ४० प्रतिशत अंकको परीक्षा सञ्चालन गर्न लागेका हुन् । सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरिएको बोर्डले जनाएको छ । परीक्षाको अधितम समय साढे एक घण्टा तोकिएको छ ।

४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । बोर्डका अध्यक्ष पौडेलका अनुसार २०७६ वा त्यसभन्दा अघिको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ पाएको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

विद्यालयबाट गरिएको आन्तरिक मूल्याङ्कनको अङ्कभार सैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई १०० प्रतिशत मानी सोको २० प्रतिशत हुनेछ । गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, इकाई परीक्षा, सामूहिक कार्य, त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्नुपर्नेछ ।

प्रयोगात्मकतर्फको नतिजा विद्यालयहरूले पठाइसकेका छन् ।

स्थानीय तहलाई अनुगमनको जिम्मेवारी
विद्यालयहरूले गत ८ बैशाखका लागि निर्धारण भएको परीक्षा अहिले सञ्चालन गर्न लागेका हुन् । साधारण, प्राविधिक विषय समूहका नियमित, ग्रेडवृद्धि र आंशिक परीक्षा हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रहरू तयार गरी विद्यालयहरुमा पाठाउँदै छ । परीक्षा अनुगमनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

कोरोनाका कारण कक्षा १२ को परीक्षा पनि एसईई जस्तै आन्तरिक मूल्यांकनबाट गर्नुपर्ने आवाज पनि उठेको थियो । तर विद्यालय तहको अन्तिम परीक्षा भएकाले परीक्षा नगरी प्रमाणपत्र दिन नमिल्ने सदस्य सचिव अर्यालले बताए । उनले भने, ‘देशविदेशका विश्वविद्यालयले मान्यता दिनुपर्ने भएकाले पनि १२ को परीक्षा सञ्चालन गर्न आवश्यक भयो ।’

अर्कोतिर भौतिक विज्ञान, रसायन विज्ञान, कम्प्युटर लगायतका प्राक्टिकल विषयका परीक्षा भर्चुअलबाट गर्न सम्भव देखिदैन ।

परीक्षार्थीको स्वास्थ्य विद्यालयको जिम्मा
कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको र शैक्षिक सत्र गुम्नै लागेपछि बाध्य भएर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्नुपरेको बोर्डका अधिकारीहरू बताउँछन् ।

जनस्वास्थ्यविद्हरू परीक्षा सञ्चालन नै हुने भएपछि अब परीक्षार्थीको स्वास्थ्यको जिम्मेवारी विद्यालयको काँधमा पुगेको बताउँछन् । सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनी हावा खेल्ने परीक्षा हल, साबुन पानी, सेनीटाइजर, थर्मल गन, परीक्षा सामग्री आदीको व्यवस्था सम्बन्धित विद्यालय नै गर्नुपर्ने बताउँछन् ।

पानी खाने भाँडा, हाजिरी कपी, प्रश्नपत्र, उत्तरपुस्तिका, इरेजर, रुलर लगायतका सामग्री प्रयोगमा उच्च सावधानी अपाउन उनको सुझाव छ । परीक्षा हलभित्र कुनै पनि सामग्री एकअर्कालाई प्रयोग गर्न दिन नहुने उनी बताउँछन् ।

‘एउटा परीक्षार्थी र अर्को परीक्षार्थीबीचको दुरी कम्तिमा दुई मिटर हुनुपर्यो, परीक्षा अवधिभर मास्क खोल्न दिनु भएन’ डा. मरासिनी भन्छन्, ‘विद्यार्थीको स्वास्थ्य विद्यालयकै हातमा छ ।’