मंसिर ८, पोखरा ।
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ ।
विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।
पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए ।
गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो ।
सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए ।
यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ । उनले भने, ‘प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई ÷तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।’
राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच रु एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ ।
तीन हजार ५०० सिट थप हुने
निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ । अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ ।
रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताए । यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उनको भनाइ छ ।
विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो । (रासस)







