मोर्गनका तीन विद्यार्थी धरौटीमा छुटे

मंसिर ९, काठमाडौं ।
विद्यालय शुल्कको विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसन कलेज, बसुन्धाराका विद्यार्थी धरौटीमा छुटेका छन् । कक्षा १२ को परीक्षा दिने तीनै विद्यार्थीलाई जनही चार हजार रुपैयाँ धरौटीमा छोडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिए ।

मोर्गन कलेजले विद्यार्थीले अभद्र व्यवहार गरेको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो । अभिभावकहरूले भने गैरकानुनी शुल्कको विरोध गरेका विद्यार्थी र अभिभावकविरुद्ध कलेजले उजुरी दिएको बताएका छन् ।

आंशिक परीक्षा दिनुपर्ने विद्यार्थीसँग पनि कलेजले प्रति विषय जनही १२ हजार रुपैयाँ र सेनिटाइजरबापत ६ हजार रुपैयाँ मागेको अभिभावकहरूको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले भने आंशिक विद्यार्थीसँग शुल्क लिने अधिकार कलेजलाई नभएको बताएको छ । कक्षा १२ को परीक्षा मंगलबार बिहानबाट सुरू भइरहेको छ ।

गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरस (कोभिड(१९) महामारीले गर्दा आजदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् ।

तर काठमाडौंको बसुन्धारास्थित मोर्गनको शूल्क विवादका कारण मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू सोमबार साँझ बल्ल छुटे ।

कोरोनाका कारण विद्यार्थीहरूले यसपटक सम्बन्धित विद्यालयमै कक्षा १२ को परीक्षा दिँदैछन् । मोर्गनका विद्यार्थीहरू गत साता प्रवेश पत्र लिन विद्यालय पुगेका थिए ।

तर मोर्गन व्यवस्थापनले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन ।

महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो । तर तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडानबाट कलेजपछि हटेन ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको आरोप लगाएका छन् ।