मंसिर, १२ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका छन् ।
शुक्रबार संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुखहरूको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन निर्माणका क्रममा दलहरूमा लोकतन्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् ।
‘जनमुखी विधेयकहरू बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ । त्यसका लागि दलहरूमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी छ । सांसदमा पनि त्यो विज्ञताको कमी देखिन्छ । त्यसकारण यसमा ध्यान दिनुपर्छ’, सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन। पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन ।’
जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभूत भएको र प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनले बताए ।
राजनीतिक दलहरूको र सांसदहरूको नतिजा भनेको जनमुखी कानुन निर्माण भएको उनको धारणा थियो ।
संसद्ले पनि विविध कारणले सांसदहरुलाई कानुन निर्माणमा विज्ञ बन्ने गरी प्रशिक्षण दिन नसकेको सभामुखको स्वीकारोक्ति थियो ।
‘संघीयता आवश्यक छ’
सभामुख अग्निप्रसाद सापकोटाले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेको समेत बताएका छन् ।
राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’
स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।







