मंसिर १३, बुटवल ।
रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उनीहरूको मृत्यु भएको हो ।
मृतकमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुष छन् ।
मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११ः२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।
यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १ सय २० र कपिलवस्तुमा १८ पुगेको छ ।







