कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक : मुख्यमन्त्री भट्ट

मंसिर १४, सुर्खेत ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।

शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए ।

‘नेपालको संविधान उत्कृष्ट छ । कार्यान्वयनकै चरणमा छौँ,’ उनले भने, ‘देशमा राम्रा कानून बनेका छन् तर मानसिकता बदलिएको छैन । मानसिकता नबलिँदासम्म जति राम्रो कानून बने पनि जटिलता आइराख्छ ।’

देशमा एउटै दलको सरकार रहेको भए पनि कानून बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए । ‘मैले कानून नबन्दा भएको अप्ठ्यारोबारे सङ्घीय सरकारसँग कुरा राखिसकेको छु, उनले थपे, ‘शुरुमा सङ्घले कानून बनाउन ढिलाइ गर्यो, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको छ ।’

उनका अनुसार सङ्घले कानून नबनाउँदासम्म प्रदेशले काम गर्न नसक्ने भएकाले कानून बन्न ढिलाइ हुँदा सबै तहका सरकारलाई काम गर्न केही जटिलता देखिएको छ ।

अन्य प्रदेशमा सम्पन्न भएको ‘सङ्घीयताको कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक भर्चुअल बैठक सुदूरपश्चिममा शनिबार सम्पन्न भएको मानअधिकार पत्रकार सङ्घ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले जानकारी दिए ।

प्रदेशगतरूपमा देशभरि गरिएको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताले कानून कार्यान्वयन गर्न सबैले प्रतिबद्धता गरे पनि कार्यान्वयनमा उदासीन भएको बताएका थिए ।