शंखमुलमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मंसिर १४, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने घाइते भएका छन् ।

शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा३६प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते छन् । उनको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ ।