म चाहन्छु, यस्तो होस् नेपाल

-दीपक भण्डारी
आज हामी नेपालीले जुन परिस्थिति भोगेका छौँ, म चाहन्नँ त्यो भोलिको पुस्ताले पनि भोग्नुपरोस् ।

हुन त यो सारा ब्रह्माण्ड प्राकृतिक वस्तु सबैको साझा हो । तर पनि मानवीय सभ्यताको क्रममा आफू जुन अधिकार प्राप्त भौगोलिक सिमा र परिधिभित्र जन्मिएको हुर्केको हुन्छ, त्यससँगै आफ्नो मौलिक पहिचान, धर्म, संस्कृति, संस्कार, जात, वर्ण, अस्तित्व र परिचय जोडिएको हुन्छ ।

त्यसलाई सामाजिक मान्यतामा रही संरक्षण गर्नु हामी मानव जातिको परम धर्म हो । त्यही आफुमा रहेको अधिकार प्राप्त भौगोलिक सिमा र त्यसैमा आधारित परिधिभित्रको क्षेत्रलाई भनिन्छ राज्य (देश) राष्ट्र ।

त्यही राज्य (देश) राष्ट्रको श्रृङ्गार वा प्रेमभावलाई भनिन्छ, राष्ट्रियता । त्यही देश संचालन गर्ने उच्चस्तरीय संयन्त्रलाई भनिन्छ सरकार !

त्यसै भौगोलिक सिमानाभित्र बसोबास गर्ने मानव समुदायलाई भनिन्छ सोही देशका नागरिक ।

हुन त जीवन भोगाइको क्रममा अनेकौं बाधा अड्चन आरोह अवरोह विविधता दुःख पीडा समस्या अभावहरू आइपर्छन् । त्यसैको एउटा रुप हो वैदेशिक यात्रा । वा भनौं, बाध्यात्मक बिदेश पलायन ।

राज्यले आफ्ना जनतालाई आवश्यक पर्ने आधारभुत सेवा सुविधा उपलब्ध गराउनुपर्ने सरकारको कर्तव्य वा दायित्व हो । अहिले देशमा आफ्नो आवश्यकता पूरा नभएका कारण विदेशिनेको संख्या अधिक छ ।

यसरी विदेशी भूमिमा पुगेर भोग्नुपरेको पीडा, गुमाउनुपरेको पहिचान, सहनुपरेको लाचारिपन, परिस्थितिले पारेको बाध्यता आफैमा पीडादायी हुन्छ ।

यस्तो अबस्था कुनै पनि देशका जनतालाई आइनपरोस्, यस्तो समस्या भोग्नु नपरोस् भन्ने चाहाना हरेक देशको नेतृत्व गर्ने सबै राजनीतिक दलको हुनुपर्छ । के यस्तो देश विश्वसामु हाम्रै देश नेपाललाई अग्रणी बनाएर देखाउन सकिएला ? एकपटक हामी सबै नेपालीले आफ्नो आत्मालाई साक्षी राखी आफूभित्र भएको आत्मज्ञान उजागर (जागरुक) पारी सोचौँ त ।

अनि त्यो दिनको कल्पना गरौँ जब हामी अर्को देशमा प्रस्थान गर्छौँ । त्यतिबेला मनमा गर्व होस्, ‘म त यहाँ आफ्नो आवश्यकता पुरा गर्न होईन, के कस्तो र कसरी यहाँको देश सञ्चालन भएको छ त्यो बुझ्न पो आएको हुँ । मैले त यहाँको कमजोरी औल्याउँदै सुझाव दिनुपर्छ’ भन्ने आत्मविश्वास होस् । हरेक देशहरूको अवस्था नेपालको जस्तो हुनुपर्छ । सिको गर तिमीहरु राष्ट्रिय एकता भनेको के हो ।

सरकारको नीति कस्तो हुनुपर्छ देशमा कस्तो राजनीतिक सिद्धान्त परिचालन हुनुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक निति कस्तो हुनुपर्छ । हामी नेपालीलाई हेर त कति प्रकारका जाति छौंँ, कति प्रकारका धर्म मान्छौँ कस्ता कस्ता धार्मिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक धरोहरहरु छन् । कस्ता–कस्ता संस्कृति, साधना, चाड, पर्व, रिति, थिति, भेष–भुषा, रहन–सहन अनेकतामा एकता सहृदयी नेपाली !

‘हाम्रो देश नेपाल, हाम्रो राष्ट्रियता नेपाली’ राष्ट्रिय भाषा नेपाली बोलीचालीमा जानेका सबै भाषा प्रयोग गर्छौं । हिमाल पहाड तराइ सबै हाम्रो मूल जहाँ पुग्छौँ, त्यहीँ हाम्रो घर । हामी सबै भाइभाइ, कोही छैन पराई ।

आहा, यो विश्वास मनमा बोकेर हिँड्दाको दिन कस्तो होला । के हामी नेपालीले यो दिन आउने मार्गमा लाग्नु हुदैँन ? हुन्छ भने आजैबाट सुरु गरौं यात्रा ।

मैले माथि नै भनिसकेँ, ‘म त नेपाली मेरो देश नेपाल ।’ यहि देशको माया छ मलाई यो देश कसरी सिङ्गो र एकताको सूत्रमा रहन्छ त्यो सोच्नु मेरो कर्तव्य हो । त्यसैले लागू गरौँ, ‘राज्य’ ‘राष्ट्र’ र ‘राष्ट्रियता’ समेटिएको राष्ट्रिय एकताको सिद्धान्त ।

सामाजिक भावना समेटिएको दर्शन, बौद्धिक हिसाबले रुपान्तरण गरौं मौलिकता, बनाउँ । प्राचीन युगका प्रचलनलाई नविनतम, प्राचिन मनोभावनासँग जोडिएको धर्मलाई दिउँ । बैज्ञानिक आधार, कार्यशैली, पेशा, अभाव र युगसँग जोडिएको जातीय धारणालाई दिउँ ।

सामाजिक सद्भाव, खोजौँ । यथास्थितिमा आफ्नो भौगोलिक आधार र श्रोतबाट प्रगतिको बाटो र थोरैमा पनि राजनीति पेशा होइन सेवा हो देश र जनताको सेवा गरि धर्म कमाउने एउटा मौका हो भन्ने र देशको भौगोलिक अबस्था कस्तो छ देशको आर्थिक अबस्था कस्तो छ देशमा साधन स्रोतको अबस्था कस्तो छ देशमा धार्मिक सांस्कृतिक जातीय परिवेश कस्तो छ र भैरहेको अबस्था बाट अगाडि बढ्नको लागि सहज सम्भावना के छ भन्नेकुरा बुझेको र फुर्सद अनि सेवा गर्ने मन भएको नेपालीले सिद्धान्तप्रति सिद्धान्तनिष्ठ भएर राजनीतिक यात्रा (कार्य) सुरु गरौं ।

बल्ल बन्छ यो देश स्वर्ग !