रणवीर बस्ने कम्प्लेक्समा आलियाले किनिन् ३२ करोडको फ्ल्याट

मंसिर १५, काठमाडौं ।
बलिउड अभिनेत्री आलिया भट्टले आफ्ना प्रेमी रणवीर कपुर बस्ने कम्प्लेक्समै नयाँ फ्ल्याट खरिद गरेकी छिन् ।

अब उनका प्रेमी तथा बलिउड अभिनेता कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड भारुमा एक फ्ल्याट किनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । आलीयाको फ्ल्याट त्यसै कम्प्लेक्सको पाँचौ तलामा छ भने रणवीर कपूर सातौँ तलामा बस्ने गर्छन् ।

आलियाको जुहू क्षेत्रमा पनि एउटा फ्ल्याट छ । उनले उक्त फ्ल्याट १३ करोड भारुमा किनेकी थिइन् । उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन् । उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ ।

मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन् । आलियाले किनेको नयाँ घरको इन्टेरियर डिजाइनको जिम्मा गौरी खानले लिएकी छिन् ।