१६ सांसदले आफ्नै खर्चमा गराए पुनः पिसिआर परीक्षण

२९ जेठ, काठमाडौं । १६ जना संघीय सांसदले पुनः पिसिआर परीक्षण गरएका छन् ।

संसद सचिवालयका स्वास्थ्य शाखाका डाक्टर पुष्प रिजालले १६ जना सांसदले पुनः पिसिआर परीक्षण गरेको जानकारी दिए । पुनः परीक्षणका लागि आवश्यक समन्वय गरिदिएको डाक्टर रिजालले बताए ।

पुनः पिसिआर परीक्षण गराउने सांसदहरुमा पूर्व सभामुख तथा सांसद कृष्ण बहादुर महरा, पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरी लगायत छन् ।

संसदको चालु अधिवेशन सुरु हुनु अगावै गत बैशाख २५ र २६ गते सांसदहरुको पिसिआर परीक्षण गरिएको थियो ।

त्यसबेला संसद सचिवालयले संसद बैठकमा सहभागि सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको थियो । जसमा घरमा सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने, राजधानी छोड्न नहुने लगायत उल्लेख छ ।

आचारसंहिताको पालना नगरी राजधानी बाहिर गएका र कोरोना संक्रमितको सम्पर्कका पुगेका सांसदहरु पुनः परीक्षण गरेका हुन् ।

सांसद लगायत संसद भवन प्रवेश गर्नेहरुलाई पिसिआर परीक्षण रिर्पोट अनिवार्य गरिएको छ ।

खर्च आफैले ब्यहोरे

संसद सचिवालयले सांसदको पुनः पिसिआर परीक्षणका लागि समन्वय गरिदिएको तर, खर्च स्वयं सांसदहरुले बेहोरेको बताएका छन् ।

पुनः पिसिआर परीक्षण गरेकी सत्तारुढ दल नेकपा सांसद गंगा चौधरीले आफैले खर्च गरेको बताइन् । ‘१५ हजार जति लाग्ने रहेछ’ सांसद चौधरीले भनिन् ।

स्वयं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले किट अभावमा पिसिआर परीक्षणलाई तिब्र पार्न नसकिएको बताइरहेका छन् । तर, सांसदहरुका लागि भने पुनः पिसिआर परीक्षणका लागि समेत किटको अभाव हुन दिइएको छैन ।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘सांसद जस्तो व्यक्ति जो संसदमा सहभागि हुन्छ त्यसका लागि सरकारले गर्नैपर्छ । यसलाई नकारात्मक रुपमा लिइनुहुन्न ।’

रिर्पोट नहुँदा सांसद हाजिर गरेर फर्किए !

संसद सचिवालयका अनुसार सांसदहरु बाहिर जिल्ला गएको वा कोरोना संक्रमितको सम्पर्कमा पुगे नपुगेको हेर्ने गरिएको छ । यसबारे सम्बन्धित पार्टीले समेत ख्याल गरिरहेको छ । र, सांसदहरुलाई पनि राजधानी नछोड्न र कोरोना संक्रमितको सम्पर्कमा नजान स्वयं दलहरु र संसद सचिवालयले आग्रह गर्दै मोबाइलमा संदेश समेत पठाएको थियो ।

यति गर्दा पनि कतिपयले आचारसंहिता उलंघन गरेका कारण पुनः परीक्षण गराएर मात्रै प्रवेश दिइएको संसद सचिवालयले जनाएको छ ।

बाहिर जिल्ला गएको तर, पुनः पिसिआर परीक्षण नगराएको भनेर अघिल्ला बैठकमा केही सांसदलाई संसद सचिवालयले बैठक कक्ष प्रवेशमा रोक लगाएको जनाइएको छ ।

‘केही सांसदलाई संसद भवन नयाँ वानेश्वर पुगिसकेका कारण हाजिर गराएर पनि फर्कायौं, किनभने यो खेलाची गर्ने विषय थिएन । पुनः परीक्षण गराएका सांसदहरुको रिर्पोट आइसकेको छ उहाँहरुलाई अबको बैठकमा सहभागितामा समस्या हुन्न’ संसद सचिवालयका एक कर्मचारीले भने ।