मंसिर २३, काठमाडौं ।
आफ्नी अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका उनीमाथि एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ परेका थिए ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका हुन् । आजको बसहमा सरकारी वकिलहरु अदालतमा उपस्थित भएनन् ।
जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले अभियोग दाबी नपुगेको ठहरसहित सफाइ दिइएको जानकारी दिएका छन् । यस मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराएको थियो ।
सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय लिएको हो ।
जिल्ला सरकारी वकिलले सर्वोच्चमा बहसको क्रममा मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको जनाउँदै जिल्लामा आइनसकेकाले सोमबारको पेशी सार्न आग्रहसहित निवेदन दिएको थियो ।
गिरीविरुद्धको बलात्कार मुद्दा अहिले सर्वोच्च अदालतमा पनि छ । सर्वोच्चले गत साता गिरीलाई थुनामै राखेर पुर्पपक्ष गर्न आदेश दिएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा पनि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गरेको थियो । तर उनलाई उच्च अदालत मोरङले थुनामा पठाउने आदेश दिएको थियो ।
सर्वोच्चबाट मिसिल फिर्ता भएर नआइसकेको अवस्थामा पेशी सार्न माग गर्दै निवेदन बुझाए पनि अदालतबाट गिरीलाई सफाइ दिने निर्णयको जानकारी आएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताएका छन् ।
सोमबारको इजलासमा सरकारी वकिलले पत्र बुझाएका थिए । तर त्यो पत्र बुझ्न न्यायाधीशले अस्वीकार गरेको बताइएको छ । श्रेस्तेदारले पनि पत्र नबुझेपछि सरकारी वकिल बहसमा नगएको निरौलाले बताएका छन् ।
सरकारी वकिलको कार्यालयमा सर्वोच्च हुँदै महान्यायाधीवक्ताको कार्यालयबाट मिसिल आएपछि बहस गर्न समय माग गरिएको उनले बताए । तर अदालतले त्यसमा सुनुवाइ नगरी एकतर्फी बहसको भरमा फैसला दिएको हो ।
गिरीको मुद्दामा यसअघि बहस गरेका सरकारी वकिलको सरुवा भएको थियो। त्यहीकारण बहस गर्न मिसिल चाहिने तर्क सरकारी वकिलको कार्यालयले गरेको थियो ।
यस्तो थियो घटना
बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ २०७६ मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो ।
आइसीयूमा भर्ना भएका गिरीलाई आइसियुबाटै पक्राउ गरेर हिरासतमा लिइएको थियो। एक अनुयायी महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो ।
गिरीले ती महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएपछि उनी फन्दामा परेका थिए । गिरीले आफू निर्दोष रहेको दाबी गर्दै आए थिए ।
बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले पक्राउ गरेको थियो । गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको थियो ।
गिरीमाथि २०७६ कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
बलात्कारसम्बन्धी जाहेरी जिल्ला प्रहरीले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा पुगेको थियो । जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी गएको थियो ।







