मंसिर २३, काठमाडौं ।
नेकपा स्थायी कमिटी सदस्य एवं अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट अष्टलक्ष्मी शाक्यले अगाामी स्थायी कमिटी बैठकमा ओली सहभागी नभएमा उनले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएकी छिन् ।
आइतबारको स्थायी कमिटी बैठकमा सहभागी नभएर पत्रबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने अडान पठाएका ओली आगामी बैठकमा पनि उपस्थित भएनन् भने पार्टी अनिर्णयको बन्दी नबन्ने उनले बताएकी हुन् ।
उनले सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, ‘सकेसम्म हामीले सहमति गर्ने भनेका छौँ । तर बैठकमै सहभागी नहुनेलाई दलको नेता भन्न मिल्छ? उहाँले हामीहरुलाईसमेत अपमान गर्नु भएको छ । आगामी बैठकमा उहाँ आउनु भएन भने उहाँले ठूलो घाटा व्यहोर्नुपर्ने छ ।’
नेता शाक्यले ओली आफ्ना तमाम गल्तीहरुका कारण झनझन् कमजोर भएको र आफूहरुसँग सामना गर्ने शक्ति गुमाइसकेको समेत निष्कर्ष सुनाइन् ।
‘प्रधानमन्त्री ओली आफ्नै पार्टी कार्यालयमा आउन नसक्ने स्थिति बन्यो। उहाँलाई कस्तो सुरक्षा थ्रेट हो यो? अर्कोतिर उहाँले हामीसँग केही सिप नलागेर हारगुहार गर्नु भएको छ, विवेकपूर्ण निर्णय लिनु भनेर । यो कस्तो प्रवृति हो?’ उनले भनिन् ।







