मंसिर २३, काठमाडौं ।
दूरसञ्चारका लागि प्रविधिको उपलब्धतामा छनोटका सुविधा भएपछि ल्यान्डलाइन फोनको प्रयोग त घटेकै छ, मानिसहरू मोबाइलबाट शुल्क खर्च हुने कुराकानी गर्न पनि मितव्ययी भएका छन् ।
स्मार्टफोन प्रयोगकर्ताले इन्टरनेटकै माध्यमबाट कुराकानी गर्नुलाई प्राथमिकता दिँदा टेलिकम कम्पनीहरूको परम्परागत व्यापारमा असर परेको छ ।
नेपालमा मोबाइल र फिक्स्ड लाइनका माध्यमबाट खपत हुने भ्वाइस र डेटा सेवाको प्रयोग घट्दै गएको दूरसञ्चार प्राधिकरणकै तथ्यांकले पनि पुष्टि गर्छ । अघिल्लो वर्षको असोजदेखि गत भदौसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।
उक्त अवधिमा ब्रोडब्यान्डको प्रयोग भने बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार असोज २०७६ मा १४०.५६ प्रतिशत रहेको मोबाइल पेनिट्रेसन भदौ २०७७ मा आइपुग्दा १२३.४ प्रतिशतमा झरेको देखिन्छ । फिक्स्डको पेनिट्रेसन पनि असोज २०७६ मा २.७ प्रतिशत रहेकोमा भदौ २०७७ मा २.५९ मा खुम्चिएको छ ।
यस्तै, ब्रोडब्यान्ड इन्टरनेटको पेनिट्रेसन असोज २०७६ मा ७०.४१ प्रतिशतबाट बढेर भदौ २०७७ मा ७६.५८ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ । मोबाइलको पेनिट्रेसन घट्नुको प्रमुख कारण निक्रिय रहेका सिमकार्ड खारेज गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
‘सिम जारी भए पनि ६ महिनाभन्दा बढी समय निष्क्रिय रहेका कार्डलाई खारेज गरी लगतकट्टा गर्दा मोबाइल पेनिट्रेसन संख्या घटेको हो,’ अर्यालले भने । तर, दूरसञ्चार सेवा प्रदायकहरुले फोरजी सेवालाई आक्रामकरूपमा विस्तार गरिरहेकाले मोबाइल पेनिट्रेसन बढ्दै जाने अपेक्षा प्राधिकरणले गरेको छ ।
कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमसँगै सरकारको डिजिटल नेपाल नीति कार्यान्वयनमा रहेकाले ब्रोडब्यान्ड इन्टरनेटको प्रयोग बढ्दै गएको अर्यालले बताए । सरकारले कार्यान्वयन गरिरहेका इन्टरनेट, सूचना प्रविधिसम्बन्धी नीतिहरुको मुल उद्देश्य नै देशभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने भएकाले पेनिट्रेसन बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले पछिल्लो समय फाइबर प्रविधिको इन्टरनेट सेवा विस्तार गर्नाले पनि ब्रोडब्यान्ड प्रयोगकर्ता बढ्दै गएको प्राधिकरणको बुझाइ छ ।
दूरसञ्चारको परम्परागत प्रविधिमा परिवर्तनको क्रम हावी हुन थाल्दा सेवा प्रदायकले कम्पनी टिकाउन नयाँ विधि खोज्नुपर्ने संकेत देखिएका छन् । मोबाइलमा डेटा खर्च हुनेगरी कुरा गर्नुभन्दा प्रयोगकर्ता ब्रोडब्याण्ड र वाइफाइको प्रयोगबाट कुराकानी गर्ने क्रम बढ्दै जाँदा भ्वाइस सेवा पुनर्परिभाषित गर्नुपर्ने हुन थालेको छ ।
मोबाइल सेवा देशभर बिस्तारसँगै ब्रोडब्यान्ड इन्टेरनेटको पहुँच पनि बिस्तारित भइरहेको छ । अब मोबाइलका भ्वाइस र डाटा खर्च गरेरै मात्र कुराकानी गर्नुपर्ने बाध्यता हटेको छ ।
सार्वजनिक स्थानहरूमा सितैका वाइफाइ सुविधा पनि बिस्तारित हुँदा मोबाइल प्रयोगकर्ताले आफ्नै गोजीबाट खर्च गरेमात्रै कुराकानी गर्न सक्ने बाध्यता छैन । इन्टरनेट भएका ठाउँबाट मोबाइल प्रयोगकर्ताले सजिलै कुराकानी गर्न मात्रै होइन फोटो र भिडियो आदानप्रदान गर्न, कुनै पनि विषयवस्तु प्रत्यक्ष प्रसारण गर्न बिना खर्चमा सम्भव हुन थालेको छ ।
शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा, यातायात लगायतका क्षेत्रमा सरकारले डिजिटल अभ्यास सुरु गर्दै लगेकाले पनि ब्रोडब्यान्डको प्रयोग बढिरहेको अर्यालले बताए । अन्य सरकारी सेवा तथा सेवाका शैलीहरु अनलाइनतर्फ लैजाने तयारी हुँदै गएकाले ब्रोडब्यान्ड पेनिट्रेसन अझै उकालो लाग्ने देखिन्छ ।
यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी सूचना महामार्ग निर्माणले ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार भएकाले पेनिट्रेसन बढ्दै गएको उनले बताए ।
कोरोना जोखिमका कारण सरकारी, निजी, गैरसरकारीलगायत संस्थाहरुले पछिल्लो समय भर्चुअल माध्यमबाटै कार्यक्रमहरु आयोजना गरिरहेकाले पनि ब्रोडब्यान्ड प्रयोग बढ्दै गएको देखिन्छ। कोरोनाले ब्रोडब्यान्डको औचित्य र आवश्यकता झन् उजागर गर्दै गएकाले यसको प्रयोग बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार र उपलब्धताले भ्वाइस र डेटाको उपभोग यसैबाट भइरहेको प्राधिकरणको भनाइ छ । विभिन्न मोबाइल एप जस्तै, फेसबुक, भाइबर, इन्स्टाग्राम, ह्वाट्सएप, स्काइपलगायतका ओटीटीका कारण पनि मोबाइल र फिक्स्ड प्रविधिबाट भ्वाइस र डेटा उपभोग गर्ने घट्दै गएको प्राधिकरणले जनाएको छ ।
मोबाइल डेटाको मूल्य ब्रोडब्यान्ड इन्टरनेटभन्दा महँगो भएकाले पनि ओटीटी एपबाट सहजै एक अर्काबीच सम्पर्क स्थापित गर्न सक्ने भएकाले फिक्स्ड र मोबाइलको पेनिट्रेसन घटेको बताइएको छ ।
मोबाइल फोनको लोकप्रियताका कारण फिक्स्ड (पीएसटीएन) प्रविधिबाट भ्वाइस सेवा लिनेको संख्या ब्रोडब्यान्ड र मोबाइलभन्दा ज्यादै न्यून छ । ल्यान्डलाइनको जडान खर्च महँगो हुनु, मर्मत निकै झन्झटिलो हुने देखेर फिक्स्डको पेनिट्रेसन घट्दै गएको अर्यालले जनाएको छ ।
फिक्स्ड प्रविधि पुरानो भएकाले स्मार्टफोनले यसलाई निकट भविष्यमा विस्थापित गर्न सक्ने सम्भावना रहेको छ । विश्व परिवेशमै फिक्स्ड प्रविधिबाट भ्वाइस सेवा लिनेको संख्या घट्दै गएको अर्यालले जानकारी दिए ।







