सडक पुगेपछि फस्टाउँदै व्यवसाय

मंसिर, २४ बनेपा । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुन् । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उनले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन्। उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका हुन्।

उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन् । यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनले बताए । “गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उनले भने, “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उनले बताए ।

धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उनले बताए । पहिला हिँडेर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उनले बताए।

कफीबाट पनि उनले पहिलोपटक आम्दानी लिन शुरु गरेको छ । यस वर्ष रु १६ हजारको बिक्री गरेको उनले बताए । कफी र अलैँचीको नर्सरीसमेत राख्न शुरु गरेका उनले बिरुवा बेच्ने तयारीमा रहेको बताए । बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गरेका छन् । उनले बारी छेउछाउमा करीब ३०÷३० बोट एभोकाडो बोटसमेत रोपेका छन् ।

गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसकेका उनले नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन् । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उनले बताए।

जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् ।