मौसमी तरकारीको आपूर्तिसंगै काठमाडौंमा सस्तिन थाल्यो तरकारीको भाउ

२५ मंसिर, काठमाडौं ।
बाहिरी जिल्लाहरुबाट मौसमी तरकारीको आपूर्ति बढ्न थालेपछि काठमाडौंमा एक सातामै तरकारीको भाउ ह्वात्तै घटेको छ ।

हिउँदे तरकारी उत्पादन सुरु भएसँगै बजारमा प्रशस्त मात्रामा हरियो तरकारी भित्रिन थालेका छन्। गत महिनासम्म अफ सिजन भएकाले आकासिएको मूल्य नयाँ उत्पादन आउन थालेपछि घटेको हो । आजकाल कालीमाटी तरकारी बजारमा दैनिक ६ सय टनभन्दा बढी तरकारी भित्रिने गरेको छ।

यतिबेला सबैतिर तरकारी उत्पादन भएकाले बजारमा खपत कम हुन्छ । खपत कम हुन थालेपछि मूल्य स्वभाविक रूपमा घट्न थाल्ने कालिमाटी तरकारी बजारका सूचना अधिकृतले बताए । बजारमा हरियो तरकारीको भाउ निकै घटेको छ । एक सातामा मटरकोसामा किलोको ९५ रुपैयाँसम्म कमी आउँदा उपभोक्ताले राहत पाएका छन् । एक साताअघि कालीमाटी तरकारी बजारमा मटरकोसाको थोक मूल्य नै किलोको १९० रुपैयाँ थियो ।

अहिले धेरै भित्रिएका स्वदेशी तरकारीमा आलु, काउली, गोलभेडा, बन्दा, मुला, साग र सिमी छन् । अधिकांश क्षेत्रमा यसको खेती हुने भएकोले बजारमा तरकारीको आपूर्ति बढेको छ । कालीमाटी तरकारी बजारमा ७५ प्रतिशत स्वदेशी उत्पादन भित्रिएको छ । २५ प्रतिशत मात्र आलु, प्याज, लौका, गोलभेडा र कागती बाहिरबाट आयात भइरहेको छ ।

चाडपर्व सकिएपछि उपत्यका छाडेर जानेहरु पुनः फर्किएका छन् भने बिहेको सिजन रहेकाले तरकारीको भाउ घट्दा उपभोक्ताले राहत महसुस गरेका छन् । यसपटक तुलनात्मकरूपमा हरियो तरकारीको भाउ घटे पनि उपभोक्ताले आँकलन गरेजसरी आलु र गोलभेडा भने सस्तिएको छैन । यी दुई तरकारीको उत्पादन सीमित र माग बढी छ । कालीमाटी तरकारी बजारमा बिहीबार नेपाली आलु प्रतिकेजी ६३ रुपैयाँ मूल्य तोकिएको छ ।